गैर आवासीय नेपाली संघले विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरका सम्मेलन आयोजना गर्दै आएको छ । पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलनको पूर्व तयारीस्वस्प युरोप, अमेरिकाज्, मध्य पूर्व र ओसनीया क्षेत्रको सम्मेलन सम्पन्न भइसकेको छ । एनआरएन अफ्रिका र एसिया प्याशिफिक गरी दुई क्षेत्रीय समिति सम्मेलन भने बाँकि छ । एसियाको सम्मेलन यही डिसेम्बर ८ र ९ तारिखका दिन हुँदैछ भने अफ्रिकाको डिसेम्बर २९ र ३० तारिखमा आयोजना गरिएको छ । यी दुवै क्षेत्रले सम्मेलनमा छलफल गरिने एजेन्डा तय गरिसकेका छन् । विशेष गरि अफ्रिकामा नेपालबाट मानव तस्करी बढी नै हुने गरेको छ । दलालहरुले अफ्रिकाको बाटो हुँदै यूरोप र अमेरिका लग्ने सपना देखाएर सोझा नेपालीलाई फसाउने गरेका छन् । एनआरएन अफ्रिका क्षेत्रले त्यस्ता मानव तस्करी नियन्त्रणमा पहलकदमी नचालेको पनि होइन् । तर सरकारी निकायको उपस्थिति कमजोर हुँदा पनी एनआरएनको पहलमा मानव तस्करी घट्दो क्रममा रहे पनि नियन्त्रणमा भने आउँन सकेको छैन । एनआरएन अफ्रिकाको क्षेत्रीय सम्मेलनमा अफ्रिकाका विभिन्न देशमा बस्ने करिव २० भन्दा बढी देशबाट नेपालीको प्रतिनिधित्व हुने अनुमान गरिएको छ । सम्मेलनमा के कस्तो विषयमा छलफल हुन्छ ? सम्मेलनमा किन आयोजना गरिएको हो ? सम्मेलनको तयारी कस्तो छ भन्ने विषयमा केन्द्रित भएर हामीले एनआरएन अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक सुनिल कार्कीसँग विशेष कुराकानी गरेका छौ । प्रस्तुत छ संयोजक कार्कीसँग गर्नुभएको कुराकानीको सम्पादीत अंश ;

अफ्रिकाको युगान्डामा एनआरएन सम्मेलन आयोजना गर्नुभएको छ, सम्मेलन गर्नुको मुख्य उद्देश्य के हो ?

गैरआवासीय नेपाली संघले क्षेत्रीयस्तरमा यस्ता सम्मेलन विगतदेखि नै आयोजना गर्दै आएको छ । विशेष गरि अफ्रिकाको हकमा भन्नुपर्दा विगतको सम्मेलनको निरन्तरता, अफ्रिकामा एनआरएनको अवस्था, अफ्रिकामा बस्ने नेपालीहरुको समस्या पहिचान र एनसिसीबीचको समिक्षा गर्ने उद्देश्यले नै सम्मेलनको आयोजना गरिएको हो । समग्रमा अफ्रिकामा बस्ने नेपालीबीच दुख सुख शेयरिङ गर्ने एउटा फोरमका रुपमा यो सम्मेलनलाई लिएका छौ ।

अफ्रिकामा नेपालीको अवस्था कस्तो छ ?

अफ्रिकामा ५४ देश छन् त्यसमध्ये नेपालीहरु ३० भन्दा बढी देशमा रहेको पाइन्छ । अफ्रिकामा ५ देखि ७ हजार नेपाली बसोबास गर्नुहुन्छ । नाइजेरिया, केन्या, तान्जेनिया, युगान्डालगायतका देशमा बढी नेपाली बसोबास गर्नुहुन्छ । एनआरएनको अवस्थाको कुरा गर्दा १७ वटा देशमा हामीले एनसिसी गठन गरिसकेका छौ । एनआरएनमा पञ्जीकृत सदस्य लिनेको संख्या ४ सय ५० जना पुगेको छ । संख्यात्मक हिसावले थोरै भए पनि अफ्रिकाका धेरै देशमा एनआरएनले दुतको रुपमा काम गर्दै आएको छ ।

अफ्रिकामा बस्ने नेपालीको मुख्य समस्या के हो ? 

यहाँ धेरै समस्या छन् त्यसमा पनि मुख्य समस्या निम्नानुसार छन्  ;

१. कुटनीतिक नियोगको न्यून सहभागिता

२. सानो समस्याको लागि राजदूतावास धाउनुपर्ने बाध्यता

३. मानव तस्करी

यी माथिका तीन मुख्य समस्यामध्ये मानव तस्करी सबैभन्दा विकराल समस्या हो । नेपालबाट विशेष गरि युरोप, अमेरिका लग्ने प्रलोभन देखाएर अफ्रिकाको बाटो हुँदै धेरै मानवतस्करी हुने गरेको छ । यूएन आर्मीमा लैजाने प्रलोभनमा पनि धेरै नेपाली दलालबाट फसेका छन् । यहाँ मुजाराम केटीहरु नेपालबाट मानव तस्करी हुने गरेको पाइन्छ । भिजिट भिसामा अफ्रिका पुगेर उतै बस्ने नेपालीको संख्या निकै बढी छ ।

अफ्रिकामा नेपालको उपस्थिति कस्तो छ ? 

मैले माथि नै भने अफ्रिकामा नेपालको कुटनीतिक नियोगहरु खुलाउन सकिएको छैन । एनआरएन गठन भइसकेका १७ वटा एनसिसी हुँदा पनि नेपाल सरकारमा आफ्रिकामा अहिलेसम्म २ वटा मात्र राजदूतावास छन् जबकी नेपालीहरु ३० भन्दा बढी देशमा भएको पाइन्छ । नेपालले अफ्रिकाका कतीपय दैत्य सम्बन्ध भएका देशमा पनि राजदूतावास खोल्न सकेको छैन । अफ्रिकाको इजिष्ट र साउथ सुडानमा मात्र अहिलेसम्म राजदुतावास छन् । अन्य देशमा राजदूतावास नहुँदा त्यहाँबाट नेपाल आउँन चाहाने पर्यटकसमेत आउन सकेका छैनन् । नेपाल सरकारले २०२० मा २५ लाख पर्यटन भित्र्याउने महत्वकांक्षी योजना अगाडि सारिरहँदा कुटनीतिक नियोगको कमजोर उपस्थितिले नेपालको प्रचार हुन सकेको देखिन्न् । अफ्रिकाको इथोयोपिया एयरलाइन्स ङाङागोटो नेपालसँग सहकार्य गर्न तयार रहेको भए पनि नेपाल सरकारले अहिलेसम्म कुनै पहल गरेको देखिन्न् ।

सम्मेलनमा के -कस्तो विषयमा छलफल गर्नुहुन्छ ? 

सम्मेलनको लागि पाँच बुँदे एजेन्डा तय गरिसकेका छौ । मुख्य गरि नेपालबाट हुने मानव तस्करी नियन्त्रणलाई विशेष प्राथमिकता दिने उद्देश्य छ । एजेन्डा निम्नानुसार छन्

१. गैर आवासीय नेपाली अभियानमा अफ्रिकामा रहेका नेपालीहरुको भूमिकाको समिक्षा गर्नुको साथै अफ्रिकामा रहेका राष्ट्रिय समन्वय परिषद्हरुलाई अझै सक्रिय बनाउन छलफल गर्ने र कार्ययोजना बनाउने ।

२. अफ्रिकामा नेपालबाट अवैध रुपमा ओसारप्रसार भई अलपत्र पारिने गरिएको नेपाली महिलालाई समेत नर्तकीको रुपमा अवैध रुपमा ल्याई अप्ठयारोमा पार्ने गरेकाले यसको समाधानमा एनआरएन अफ्रिकाले खेलेको भूमिकाको समिक्षा र यसको निर्मूलता कसरी हुन सक्छ भन्ने विषयमा छलफल गरि नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. हाल आफ्रिकाका अधिकांश मुलुकहरुमा नेपालीहरु रोजगार र ब्यापारको सन्दर्भमा पुग्न थालेको र प्रत्येक वर्ष यसको संख्यामा बृद्धि भइरहेको छ । १७ वटा मुलुकहरु एनआरएन एनसिसी गठन भइसकेको र अझै गठन हुने क्रममा छ । तर नेपाली दुतावास हालसम्ममा दक्षिण अफ्रिका र इजिष्टमा मात्र रहेकाले राहादानी नवीकरण श्रमस्वीकृती र आपत विपत्तमा पर्दा हेर्ने सरकारी निकाय धेरै मुलुकमा नरहेको हुँदा अप्ठयारो पर्ने गरेको छ । त्यसैले यसमा छलफल गरि नेपाल सरकारलाई सुझावसहित कुटनीतिक निकाय बढाउन आग्रह गर्ने ।

४. अफ्रिकाको पर्यटनको विकासको अनुभवबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्न आवश्यक प्रयास र समन्वय गर्ने, आफ्रिकामा रहेका भारतीय मुलुकका प्रवासीहरुलाई नेपालमा धार्मिक पर्यटनका लागि लैजान आवश्यक प्रयास गर्ने।
५. विकास र हालसालै केहि आफ्रिकन मुलुकले गरिरहेका द्रूत आर्थिक विकास र सम्मृद्धिका बारेमा छलफल गर्ने र राम्रा अनुभव कसरी नेपालले समेत उदाहरणका रुपमा लिन सकिन्छ भन्ने बारेमा छलफल गर्ने ।

सम्मेलनमा सहभागिता के कस्तो रहन्छ ? 

अफ्रिकाको क्षेत्रीयस्तरको एनआरएन सम्मेलन भएकाले एनआरएमा आवद्ध हरेक एनसिसीबाट प्रतिनिधित्व हुनेछ । सम्मेलनमा करिव ७५ देखि १०० जना सम्मको सहभागिता हुने अनुमान गरेका छौ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

एनआरएन अफ्रिका अन्य क्षेत्रको एनसिसीभन्दा पृथक भएको जानकारी गराउन चाहान्छु । हामी प्रचारलाई भन्दा बढी परिणममुखी कामतर्फ केन्द्रित हुने गरेका छौ । त्यहाँ बस्ने नेपालीलाई परेको हरेक समस्यामा साथ दिदै समाधान गर्नेतर्फ बढी केन्द्रित हुन्छौ । एनआरएनको पहिलो सम्मेलनदेखि उठाइँदै आएको मानव तस्करी नियन्त्रण अभियान अहिले पनि जारी छ । हामीले यो अभियान चलाएकै कारण आज अफ्रिकामा मानव तस्करी नियन्त्रण घट्दो क्रममा छ । सरकारले गर्नुपर्ने काम एनआरएनमार्फत भइरहेको छ । त्यसैले सरकारी निकायले यस विषयमा ध्यान दिई अफ्रिकामा दौत्य सम्बन्ध बढाउँदै नेपालको पर्यटन क्षेत्रको विकासका लागि पनि कुटनीतिक नियोग खोल्न आवश्यक देखिन्छ । हामी सम्मेलनमार्फत त्यहाँको समस्या, सम्भावनालाई समेटेर सरकारलाई सुझाव दिने तयारीमा छौ ।

फेसबुक कमेन्ट