शान्ति सेनाको माग धेरै बढ्यो– महासचिव बान

काठमाडौं, १३ असोज । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले युद्धग्रस्त क्षेत्रमा जारी रहेको द्वन्द्वका कारण विश्वमा शान्ति स्थापनाका लागि शान्ति सैन्यको धेरै ठूलो माग भएको बताएका छन्।

उनले अहिलेको विश्वका कैयौँ देशमा जारी रहेको द्वन्द्वका कारण बढ्दो हिंसाले गर्दा ती देशमा शान्ति सैन्यको सङ्ख्या बढ्दो मात्रामा रहेको जानकारी पनि उनले दिए।

संयुक्त राष्ट्रसंघीय जारी महासभाअन्तर्गत सोमबार भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै महासचिव बानले सो जानकारी दिएका हुन्।

महासचिव बानका अनुसार हाल विश्वका १२० भन्दा बढी देशले शान्ति सेनाका लागि कम्तीमा पनि एक लाख २५ हजार जना सेना पठाएका छन्।

यसरी पठाउने शान्ति सैन्यमा प्रहरी, सैनिक तथा नागरिक सुपरिवेक्षकहरु समेत रहेका पनि उनले जानकारी दिए।

संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकले हाल विश्वका विभिन्न स्थानमा गरी करिब ३५० स्वास्थ्य क्लिनिक पनि सञ्चालन गरेको छ।

त्यसैगरी यसले १६७ वटा हेलिकोप्टर र ७० वटा जहाज पनि सञ्चालन गरिरहेको पनि सो अवसरमा महासचिव बानले जानकारी दिए।

शान्ति सेनाले शान्ति स्थापनाको कार्यका लागि हाल विश्वका विभिन्न देशमा गरी १३ हजार सवारी साधन प्रयोगमा ल्याएको पनि उनले प्रस्तुत गरेको तथ्याङ्कमा जनाइएको छ ।

यो सबै अवस्थाबाट विश्वमा शान्ति सैनिकले कसरी काम गरिरहेका छन् र उनीहरुको कार्यको प्रभावकारिता के छ भन्ने कुरा देखिन्छ भन्दै महासचिव बानले भने– यो समयमा आएर शान्ति सैनिकको माग निकै बढ्दो देखिएको छ ।

महासचिव बानले हालैका दिनमा यो माग बढ्दो मात्रामा रहेको भएपनि यसका कारणले संयुक्त राष्ट्रसंघलाई भने कुनैपनि चुनौतीको अवस्था नदेखिएको बताए।

दक्षिणी सुडानमा खटिइआएका शान्ति सैनिकले पछिल्लो समयमा कम्तीमा पनि दुई लाख नागरिकलाई आश्रय दिइरहेका भन्दै उनले तर यसरी यत्रो ठूलो सङ्ख्याका नागरिकलाई आश्रय दिनेगरी यसअघि शान्ति सैनिकको जिम्मेवारीमा कहिल्यै पनि नखटाइएको जानकारी पनि दिए।

हामीले मध्यअफ्रिकामा अर्को सम्भाव्य त्यस्तै ठूलो हिंसाको नियन्त्रणका लागि काम गरिरहेका छौँ र हालैका दिनमा हामीले मालीमा शान्ति स्थापनाको कार्यको अनुगमन गरिरहेका छौँ – उनले भने।

सिरियामा अकल्पनीय रुपमा बढ्दो मात्रामा देखिएको हिंसा फैलिई लेबनानमा पनि प्रवेश गर्नसक्ने खतरालाई रोक्ने काममा लेबनानमा खटिएको सेनाले ठूलो काम गरिरहेको जानकारी पनि उनले दिएको प्राप्त समाचारमा जनाइएको छ ।

महासचिव बानले सो सम्मेलनमा सहभागी विश्वका नेताहरुलाई शान्ति स्थापनासम्बन्धी राष्ट्रसंघको वर्तमान कार्यलाई थप विस्तारित र प्रभावकारी बनाउन आवश्यक कदमका लागि पनि सहयोगको याचना गरे।

हाल न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७० औँ महासभा चलिरहेको छ । सो महासभामा जारी रहेका विभिन्न शीर्षकका सम्मेलनमध्ये सोमबार यो शान्ति सम्मेलन सम्पन्न भएको हो । रासस/सिन्ह्वा