बेलायतबाट स्पेनिस चेली आइनालाई ८ लाख रुपैयाँ सहयोग प्रदान (भिडियो सहित)

शिव भण्डारी

लन्डन । नेपालमा सामाजिक सेवामा तल्लिन स्पेनिस चेली आइना बार्कालाई बेलायतबासी नेपालीले साथ दिएका छन् ।

हेटौंडामा बार्काले सञ्चालन गरिरहेको आशा विशेष पाठशाला तथा पुनस्थापना केन्द्रको सहयोगार्थ आइतबार इष्टकोटस्थित हिमालयन मोनाल रेष्टुरेन्टमा एक कार्यक्रम गरि आइनालाई ८ लाख रुपैयाँ प्रदान गरिएको हो ।
एनआरएनए उपाध्यक्ष कुल आचार्य र संस्थापक सचिव चिरन्जिवी ढकालले उक्त रकमको चेक बार्कालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले आइना जस्ता समाजसेवी नेपालका लागि अपरिहार्य भएको र उनको मानवीय कर्ममा एनआरएनले सधैं साथ दिने बताए । संस्थापक सचिव चिरन्जिवी ढकालले पनि आइना बार्काको निस्वार्थ भावना अरुका लागि पनि प्रेरणा भएको उल्लेख गरे ।

दुर्गम गाउँहरुमा रहेका बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई लक्षित गर्दै विद्यालय र छात्रावास सञ्चालन गरिरहेकी बार्कालाई सघाउन बेलायतमा च्यारिटी डिनर तथा चन्दा संकलन गरिएको थियो ।

बार्काको अभियानलाई सघाउन एनआरएन यूके भाषा साहित्य विभागको संयोजनमा महासचिव राजकुमार त्रिपाठी, सचिव नारायण गाउँले, एनआरएन यूकेका पूर्व उपमहासचिव कृष्ण तिवारी र लक्ष्मी राई सम्मिलित एउटा सहयोग संकलन समिति बनेको थियो ।

कार्यक्रममा आइनालाई लन्डन नेपाल न्यूज डट कमका संस्थापक प्रबन्ध निर्देशक काशीराज बोहराले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजसेवी तथा एनआरएनए युरोप पूर्व संयोजक चिरन्जिवी ढकाल, व्यवसायी काशीराज बोहोरा, अर्घाखाँची समाज यूकेका अध्यक्ष बालकृष्ण भुसाल, डा. राजेन्द्र थापा, समिरनाथ प्याकुरेल, नायक ध्रुव दत्तलगायतले आइनाको समाजसेवाको प्रशंसा गर्दै स्वागत गरेका थिए ।

मकवानपुरको हेटौंडा नगरपालिका– ६ गौरीघाटमा अवस्थित ‘आशा स्कुल’मा बौद्धिक अपांगता भएका ३८ जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

हेर्नुहोस : लन्डन नेपाल न्युज डटकमका लागि शिब भण्डारीले लिएको स्थलगत भिडियो रिपोर्ट:

Leave a Reply

Your email address will not be published. Required fields are marked *