काठमाडौं, १० चैत्र । म्यानपावर कम्पनीहरुले सरकारले तोकेको शुल्क भन्दा बढि शुल्क लिएर बिदेश पठाउने गरेको भेटिएको छ । लाजिम्पाटमा रहेको अबिचल ओभरसिज प्रालिले कतारको लागि फ्रि भिसामा समेत ८० हजार सम्म असुल्ने गरेको छ ।
त्यतिमात्र नभएर सो म्यानपावर कम्पनीले विकट जिल्लाबाट बिदेश जान भनेर राजधानी आउने सर्वसाधारणको राहदानी कब्जामा लिएर न्युन कमाई हुने देशमा कमिसन खाएर जर्वजस्ती पठाउने गरेको छ । बर्दिया जिल्ला ढोढरी गाविस निवासी रोशन पुरीको राहदानी अहिले अबिचल ओभरसिजले आफ्नो कब्जामा लिएर राखेको छ ।
पिडित रोशन पुरीका बुबा राजकुमार पुरीका अनुसार सो मेनपावर कम्पनीले पहिला कतारमा लेवर कामको लागि खाएर बसेर ४० हजार हुने भन्दै राहदानी लगेको तर अहिले भिसा लागेपछि कम्पनीको कागजात हेर्दा २० हजार मात्र हुने देखेपछि छोरालाई नपठाउने भन्दा सो मेनपावर कम्पनीले हामीसंग राहदानी कब्जामा लिएको गुनासो गरे ।
सो विषयमा हामी बुझ्न जाँदा अबिचल ओभरसिज प्रालिमा काम गर्ने कर्मचारी दिवाकर मैनालीले सरकारले तोकेको शुल्कमा अहिलेसम्म आफुले कहिले नपठाएको र २० हजारमा कुनै पनि कम्पनीले कामदार पठाउन नसकिने र बैदेशिक रोजगार विभागमा काम गर्ने हरेक कर्मचारीलाई घुस खुवाउनुपर्ने भएकाले महँगो शुल्क उठाउनुपरेको बताए ।
सो म्यानपावर कम्पनीले समाचार प्रकाशन वा प्रशारण नगर्न र गरेमा ‘राम्रो नहुने’ भन्दै घुस समेत खुवाउने प्रयास गरेका थिए । यस्ता घटना त बैदेशिक रोजगारीमा जाने युवाहरुले भोगिरहेका छन् । तर नियमक निकायले यता तिर आँखा लगाउन नसकेकाले बिदेशीने युवाहरु ठगिन विवश बनेका छन् ।
सरकारी मापदण्ड अनुसार मलेसियाको लागी ८० हजार, बहराइन, कुवेत, ओमान र लेवनानको लागी ७० हजार, कतारका लागी २० हजार, साउदी अरबिया र यूएइकाका लागी ७० हजार अधिकतम शुल्क तोकेको छ । तर अधिकांस म्यानपावर कम्पनीहरुले तेब्बर शुल्क असुलेर पठाउने गरेका छन् । यसरी युवाहरु ठगिने क्रम बढेपनि सम्बन्धित निकायले भने अनुगमन गर्न नसकेको पिडितहरुले गुनासो गरेका छन् ।
ठगिदैछन् बैदेशिक रोजगारीमा जाने युवाहरु






