काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा माधवप्रसाद शर्माको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
निमोनियाका कारण काठमाडौँ मोडल अस्पतालमा उपचाररत उहाँको बिहान निधन भएको हो । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
गत साता कञ्चनपुरमा भएको नेपाल बुद्धिजीवी परिषद्को नवौँ महाधिवेशनमा सहभागी शर्मालाई अस्वस्थ भएपछि काठमाडौँ ल्याइएको थियो ।
विसं १९९८ मा धनकुटाको लेगुवा–१ मा जन्मनुभएका शर्मा सो परिषद्को सल्लाहकार परिषद्को पूर्व सभापति रहनुभएको थियो । उहाँका श्रीमती र दुई छोरी छन् ।
उहाँलाई श्रद्धाञ्जलि दिन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, शान्तिमन्त्री एकनाथ ढकाल, पूर्व उपकुलपति डा हीराबहादुर महर्जनलगायत आर्यघाट पुग्नुभएको थियो ।






