लण्डन । बेलायतको मिडल्याण्ड र क्याम्बृजशायरमा बस्ने नेपालीहरुको संघसंस्थाको साझा संस्था – साझा नेपाली समाज यू.के.ले यनआरएन यू.के.को ईंग्लाण्ड राज्य परिषद् तत्काल गठन गर्न यनआरएन यू.के.संग माग गरेको छ । साथै ईंगल्याण्ड राज्य परिषदको संयोजकमा सामाजिक अभियन्ता श्री दयानिधि सापकोटालाई सर्वसम्मतरुपले प्रस्ताव पनि गरेको छ । यही नोभेम्वर १९ तारिखमा पिटरबरोको स्टाम्फोर्डमा अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा बसेको बैठकमा साझा नेपाली समाजसंग आवद्ध सृजनशील समाज लेस्टर, पिटरबरो नेपाली समाज, हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड र नटिघंमका नेपाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकले साझा नेपाली समाजको कार्यसमितिमा रहेको रिक्त पदहरु, पदाधिकारी एवं सदस्यहरु चयन गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । समाजको रिक्त एक उपाध्यक्ष पदमा नटिघंम नेपाली समाजका पूर्व अध्यक्ष विष्णु चालिसे, कोषाध्यक्षमा कृष्ण खरेल र सदस्यहरुमा प्रविण पाण्डे र रुद्र गैरेलाई चयन गर्दै कार्यसमितिलाई पूर्णता दिलाएको छ । यसैगरी सल्लाहकारहरुमा समाजका अग्रजद्धय कमल भण्डारी र सुरेश श्रेष्ठलाई चयन गर्दै साझासंग आवद्ध संस्थाहरु पिटरबरो, लेसेष्टर, ओल्भरह्याम्प्टन र नटिंघम समाजबाट चुनिनुभएका तीन–तीन सल्लाहकारहरुलाई सर्वसम्मत रुपले अनुमोदन पनि गरेको छ ।






