एमालेबाट बागी उठे ५ वर्षसम्म निष्काशन

काठमाडौं– एमालेले निर्वाचनमा बागी उम्मेदवार बन्ने र बागीलाई सहयोग गर्नेमाथि पाँच वर्ष निष्कासन गर्ने निर्णय पनि मातहतका कमिटीमा पठाएको छ ।

पार्टी निर्णयको पालना उपशीर्षकमा पठाइएको निर्देशनमा पाँच वर्ष निष्कासन गर्ने उल्लेख छ । ‘पार्टी निर्णयलाई अवज्ञा गर्ने, पार्टीले अघि सारेको उम्मेदवारका विरुद्धमा बागी उम्मेदवार बन्ने, बागी उम्मेदवारको प्रस्तावक वा समर्थक बन्ने, पार्टीको उम्मेदवारका विरुद्ध र बागी उम्मेदवारको पक्षमा गतिविधि गर्ने, विरोधी दलका उम्मेदवारसँग साँठगाँठ गर्ने, विरोधी दलका उम्मेदवारको समर्थक वा प्रस्तावक बन्ने व्यक्तिलाई उम्मेदवारीका सम्बन्धमा अन्तिम निर्णय गर्ने पार्टी कमिटीले तत्काल पार्टी सदस्यताबाट निष्कासित गर्ने र यसरी कारबाहीमा परेका व्यक्तिको पक्षपोषण गर्नेहरूलाई समेत अनुशासनात्मक कारबाही गर्ने,’ निर्देशनमा भनिएको छ ।

निर्देशनमा बैठक बस्न सम्भव नभएका कमिटीको प्रमुखलाई तत्कालै निष्कासनको कारबाही गर्नसमेत निर्देशन दिएका छन् । ‘तत्काल सम्बन्धित पार्टी कमिटीको बैठक बस्न सम्भव नभए उम्मेदवारीका सम्बन्धमा निर्णय गर्ने अख्तियारीप्राप्त कमिटीको प्रमुख पदाधिकारीले कारबाही गर्ने र कमिटीको बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने । त्यसरी निष्कासनको कारबाहीमा परेको व्यक्तिलाई पाँच वर्षसम्म पुनः पार्टी सदस्यता प्रदान गरिनेछैन र राज्य वा पार्टीका कुनै पनि पद र सुविधा दिइनेछैन,’ निर्देशनमा भनिएको छ ।