सर्वोच्चले माग्यो न्यायाधीश नियुक्ति फाइल

काठमाडौं– सर्वोच्च अदालतले उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने न्यायपरिषद्को निर्णय पुस्तिका (फाइल) पेस गर्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई बेवास्ता गरिएको भन्दै नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा न्यायापरिषद्ले गरेको निर्णयको फाइल मगाउने आदेश जारी गरेको हो । रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरूबाट असाध्यै कम र वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको दाबी छ ।

गत २८ पुसमा न्यायपरिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको थियो । वरिष्ठता मिचिएर गरिएको सो नियुक्ति सिफारिस र नियुक्ति निर्णय अवैधानिक भएकाले खारेज गर्नुपर्ने निवेदकको दाबी छ ।