एनआरएन युके,तीव्र विवादका बीच मतगणना शुरु गर्ने, शेर सुनार समूहले गर्यो वहिस्कार !

लन्डन । एनआरएन युकेको चुनावलाई लिएर उत्पन्न तीव्र विवादका बीच निर्वाचन समितिले आइतबार बेलुका ७ बजे देखि मतगणना शुरु गर्ने जनाएको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त रिटायर्ड मेजर डमर घलेले आफुहरुले सहमतिको लागि प्रयास गरेको तर एक, दुइ जना लिडरले गर्दा सहमति हुन नसकेको आरोप लगाए। तर एनआरएन युकेका अध्यक्ष पदका उम्मेदवार शेरबहादुर सुनार समर्थित समूहले शनिवार भएको चुनावमा एउटा बुथ कब्जा गरिएको आरोप लगाउंदै विवादमा रहेका तीन ओटै मतदान केन्द्रहरुमा फेरी चुनाव गराउन माग गरेको छ ।

एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउदै सो समूहले निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दीइसकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न पनि माग गरेको छ। यस अघि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त घलेले दुवै पक्षलाइ आफुहरुले स्थानीय समय अनुसार ४ बजे सम्म समय दिएको र त्यस बेला सम्म नआए समितिले आफ्नो काम थाल्ने जनाएका थिए । आइतबार दिउंसो एक पत्रकार सम्मेलनमा बोल्दै शेर सुनारले शनिवार आफु बेजिंगस्टोक मतदान केन्द्रमा पुग्दा आफुलाई मतदान केन्द्रमा पस्न नदिइएको बताए ।

एनआरएन युकेका निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले रसियामा पनि उम्मेदवारलाई मतदान केन्द्र भित्र जान दिने गरेकोमा अध्यक्षका उम्मेदवारलाई मतदान केन्द्र भित्र जान नदिएर कस्तो प्रवृत्ति देखाउन खोजेको हो ? भन्ने प्रश्न गरे। शेर सुनार समूहले एनआरएन युकेको कुनै छाप नलागेको एउटा कालो वाकसमा ल्याईएका मतपत्रहरु पनि मिसाएर गणना गर्ने कोशिश भईरहेको आरोप लगाएको छ।

शेर सुनार समूहले बेजिंगस्टोकमा एकलौटी मत खसालिएको दावी गरेको छ भने पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो र अल्डरशटमा पनि अनियमितता भएको लिखित उजुरी दिएका छन्। झन्डै साढे तेह्र हजार मतदाता सहित संसारकै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न सफल एनआरएन युकेको पछिल्लो विवादले धेरै मतदाताहरु निराश भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *