लन्डन। एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदान पछि तीव्र विवादका बीच आइतबार राती निर्वाचन समितिले शेर बहादुर सुनार समूहको बहिस्कारका बीच मत गणना शुरु गरेको थियो, तर केही छिन मै मतगणना स्थगित गरियो। त्यस पछि पुनम गुरुङ समूहले असन्तुष्टि जनाउदै मत गणना जारी राख्न माग गरेको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त रिटायर्ड मेजर डमर घलेर, प्रवक्ता शिब जी श्रेष्ठ निर्वाचन समितिले राजिनामाको घुर्की लगाउनुभन्दा निवेदनहरुउपर आवश्यक अध्ययन एवम् छानबिन गरेर उचित निर्णय लिनुपर्ने धारणा सुभ चिन्तक हरुको भनाइ छ तर मेजर डमर घलेले आफु मर्नु परे पनि मत गणना गरेरै छाड्ने बताएका थिए । त्यस लगत्तै पुनम समूहका प्रतिनिधिहरुको मात्र उपस्थितिमा स्कटल्याण्डबाट ल्याईएका मतपेटिकाहरु खोलेर मत गणना शुरु गरिएको थियो।
त्यसैबीच एनआरएन युकेको वर्तमान कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउंदै निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दीइसकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न माग गरेका थिए । निर्वाचनमा धाँधली भएको र पुनः मतदानको लागि चासो नदेखाएको भन्दै कार्यसमितिको बहुमतले निर्वाचन समितिलाई बिघटन गरेको छ । उपाध्यक्ष ललित कुमार न्यौपानेको अध्यक्षतामा अल्डरशटमा बसेको बैठकले डमर घले नेतृत्वको निर्वाचन समितिलाई बिघटन गर्ने निर्णय गरेको हो ।
तर कार्यकाल सकिन लागेका अध्यक्ष योग कुमार फगामी भने बैठकमा उपस्थित भएनन्। उनले पुनम गुरुङको टिमबाट आइसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन् । त्यस पछि निर्वाचन समिति एक कदम पछाडी सरेको अनुमान गरिएको छ। केहि मध्यस्थकर्ताहरुले सहमतिको प्रयास जारी राखेका छन् । उनीहरुले विवाद आएका मतदान केन्द्रहरुमा के भएको हो बुझ्न एउटा समिति गठन गर्ने र उक्त समितिलाइ आफ्नो प्रतिवेदन बुझाउन २४ घण्टाको समय दिन सुझाव दिएका छन् ।
शेर सुनार समूहले पत्रकार सम्रमेलन गरी एनआरएन युकेको कुनै छाप नलागेको एउटा कालो बाकसमा ल्याईएका मतपत्रहरु पनि मिसाएर गणना गर्ने कोशिश भईरहेको आरोप लगाएको छ। शेर सुनार समूहले बेजिंगस्टोकमा एकलौटी मत खसालिएको दावी गरेको छ भने पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो र अल्डरशटमा पनि अनियमितता भएको लिखित उजुरी दिएका छन् ।
शनिबार सम्पन्न बेलायतका विभिन्न १३ निर्वाचन केन्द्रमा कुल १३ हजार ६ सय २९ मतदाता रहेकोमा झण्डै ७० प्रतिशत हाराहारीमा मत खसेको अनुमान गरिएपनि निर्वाचन समितिले आधिकारिक विवरण अहिलेसम्म पनि सार्वजनिक गरिसकेको छैन् ।
यसैबीच नर्दन आयरल्याण्डबाट निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले पदबाट राजिनामा दिने घोषणा गरेका छन् । निर्वाचन समितिले निष्पक्ष निर्वाचन गर्न नसकेको र आफ्नो कमजोरी स्वीकार गर्न अस्वीकार गरेको भन्दै कंडेलले राजिनामा दिने निर्णय गरेका हुन् । झन्डै साढे तेह्र हजार मतदाता सहित संसारकै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न सफल एनआरएन युकेको पछिल्लो विवादले धेरै मतदाताहरु निराश भएका छन् ।आफूले दिएको मतको परिणाम थाहा पाउने पर्खाइमा छन् बेलायत बासि नेपाली दाजुभाई दिदि बहिनीहरु । एनआरएन युकेकोमा किन यस्तो अवस्था देखिएको भन्दै विश्व बाट हेरिरहेका नेपाली हरुले आश्चर्य प्रकट गरेका छन् ।






