धुर्मुस सुन्तलीलाई तिलगंगा आँखा प्रतिष्ठानको १५ लाख सहयोग

Tilganga-Help-Dhurmus-Suntali-800x445काठमाडौं- गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार धुर्मुस सुन्तलीलाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ ।

२४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताउनुभएको छ । अष्ट्रेलीयाका ग्याडी हलोजलगायत थुप्रै शुभचिन्तकहरुबाट सो रकम प्रतिष्ठानलाई प्राप्त भएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य एवं गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका छन् । डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य हुनुहुन्छ भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार हुनुहुन्छ ।

प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगप्रति आभार व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले एउटा अस्पतालकोतर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताएका छन् । प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानित लागत रहेको गिरान्चौर एकीकृत बस्ती निर्माण परियोजनाका लागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।