काठमाडौं, २७ फागुन । ‘प्रधानमन्त्रीज्यू, हाम्रो जीवन र सपना चकनाचुर पार्ने त्यो को हो ? १७ दिनसम्म ऊ किन पक्राउ परेन ? उसलाई पक्राउ गरी फाँसी दिइयोस् ।’
काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्न गएका बेला १७ दिन अघि एसिड आक्रमणमा परी घाइते भएकी सीमा बस्नेतले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई यस्तो व्यहोराको पत्र लेखेकी छन् ।
सीमाको पत्र लिएर बुधबार उनकी सानिमा प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेकी थिइन् । एसिड आक्रमणमा परेर उपचार गराइरहेकी संगीता मगरको अवस्था भने अझै सुधार हुन सकेको छैन । सीमा पनि अहिलेसम्म उपचार गराइरहेकी छिन् ।
एसएलसीको तयारीका क्रममा ट्युसन पढिरहेका बेला एसिड आक्रमणको शिकार बनेकी बस्नेतले प्रधानमन्त्रीलाई लेखेको हस्तलिखित पत्र चार पृष्ठ लामो छ ।
पत्रमा आफू रौतहटबाट भविश्य बनाउन हजुरआमाको साथ लागेर राजधानी आएको र हजुरआमाले दुख गरेर पढाएको उल्लेख छ ।
एसएलसीको तयारीका क्रममा ट्युसन पढिरहेका बेला एसिड आक्रमणमा परेको उनले पत्रमा लेखेकी छन् । अहिलेसम्म आफ्नो कुनै केटा साथी नभएको बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । फेसबुक आइडी र आफूसँग मोबाइलसमेत नभएको उनले उल्लेख गरेकी छन् ।
आफूसँगै एसिड आक्रमणमा परेकी संगीतासँग आफ्नो एक साता अघिमात्रै चिनजान भएको उनले लेखेकी छन् । आफूले एसएलसी दिन पाउँछु कि पाउँदिन भन्ने उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् ।






