थापाको पार्थिव शरीर रंगशालामा

काठमाडौं, ४ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आज अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । थापाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि अहिले दशरथ रंगशालामा राखिएको छ । यसअघि बिहान १० बजेदेखि चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिएको थियो । रंगशालामा नेपाली सेनाको टुकडीले राजकीय सम्मानको साथ सलामी दिएपछि शवयात्रा गरिनेछ । दशरथ रंगशालाबाट सुरु हुने शवयात्रा वीर अस्पताल, बागबजार, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर, बत्तिसपुतली, गौशाला हुँदै पशुपति आर्यघाट पुग्नेछ । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा थापाको ८८ वर्षको उमेरमा बुधबार राति निधन भएको थियो ।