काठमाडौं, २७ फागुन। एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाउमा लागेको आरोप लगाएका छन् ।
नयाँ संविधानका अधिकांश विषयमा धेरै विवाद नरहेपनि केही नेतालाई संविधान बनेपछि आफ्नो स्थान के हुने भन्ने चिन्ताले सताएकाले सहमति बन्न नसकेको बताए ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा एमाओवादी नेता गजुरेलले भने-‘केपीओलीजीजीवनमा एकपटक प्रधानमन्त्रीबन्न चाहनुहन्छ । शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्न प्रतिक्षारत हुनुहुन्छ । यस्तै खेलले पनि सहमतिमा अवरोध सृजना भएको हो ।’
आफूहरुलाई पेलेर जाने नियतले गलत कामहरु भइरहेको भन्दै उनले त्यसको नतिजा नराम्रो हुने चेतावनी दिए । उनले भने-‘एमाओवादीसहितको ३० दलीय मोर्चालाई पेलेर जानखोजे आन्दोलनले छिनोफानो गर्छ ।’
कार्यक्रममा सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिमा नआए कडा आन्दोलनबाटै टुंगो लगाउने बताए ।
वार्ताप्रति सत्तापक्ष जिम्मेवार नभएको भन्दै उनले वार्ताका नाममा अलमल्याउने खेल भए त्यसको गतिलो जवाफ दिने चेतावनी दिए ।
केपी ओली प्रति संकेत गर्दै उनले भने-‘ओलीजी विरामी भएपनि उहाँको पार्टी विरामी भएको छैन ।’ मधेसी जनता आन्दोलनका लागि तयार भएर बसेको भन्दै उनले अगाडि बढ्नुपरे टुंगोमै पुगेर मात्र रोकिने बताए ।






