कलैया, २७ फागुन । बलात्कृत बालिका पूजा साहको मृत्युबाट आक्रोशित बनेका बारा कलैयाका स्थानीयले बुधवार दोस्रो दिन पनि बालिकाको शव सहित प्रदर्शन जारी राखेका छन् ।
काठमाडौंस्थित कान्तिबाल अस्पतालमा उपचारको क्रममा पूजाको मृत्यु भएपछि शव मंगलबार कलैया लगिएको थियो । मंगलबार पनि स्थानीयले प्रदर्शन गरेका थिए ।
भरत चोकमा बलात्कृत बालिकाको शव राखी प्रदर्शन भएपछि कलैयाको बजार, यातायात बन्द छ ।
आफ्ना माग पूरा नभएसम्म शवको दाहसंस्कार नगरी प्रदर्शन जारी राखिने बेटी बचाउँ संघर्ष समितिका अध्यक्ष एवं पूर्वसभासद प्रमोदप्रसाद गुप्ताले बताए ।
बलात्कार पछि मृत्यु भएकी ७ बर्षीया पुजा साहका बुवा ब्रम्हनारायण साह, अध्यक्ष गुप्ता, रामबाबु यादव, दिपलाल साह लगायत धर्नामा बसेका छन् । श्रृङ्खलाबद्ध तरिकाले बढ्दै गएको बालबालिकाको बलात्कार, हत्या, अपहरण लगायतका आपराधिक कृयाकलापको अनुसन्धान गर्नुपर्ने, नैतिकताको आधारमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग सहित उनीहरु धर्नामा बसेका हुन् ।
केही समययता आपराधिक क्रियाकलाप बढ्दै गएको भएपनि सरकारले शान्ति सुरक्षा दिन नसकेकोमा यस्ता घट्ना बढदै गएको नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बाराका प्रचार बिभाग प्रमुख अनिता साहले बताईन् ।
यस्ता आपराधिक कृयाकलापमा संलग्नलाई कडाकारवाही गर्नुपर्ने माग गर्दै बिभिन्न संघ संगठनले आन्दोलनमा समर्थन जनाउँदै सक्रिय रुपमा आन्दोलनमा उत्रेका छन् । आन्दोलनले बजार, यातायात बन्द रहेको छ ।
फागुन ८ गते बलात्कार पछि पुजा अचेत अवस्थामा फेला परेकी थिईन् । केही समययता सदरमुकाम कलैया सहित बारामा अपहरण, हत्या, बलात्कार जस्ता आपराधिक कृयाकलाप बढेकोले स्थानीय त्रसित भएका छन् ।






