चैत महिनापछि योजना तथा कार्यक्रमलाई स्वीकृत नगर्न निर्देशन

काठमाडौं, २७ फागुन । राष्ट्रिय योजना आयोगले चैत महिनापछिका विकाससम्बन्धी योजना तथा कार्यक्रमलाई स्वीकृत नगर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘विकास बजेट खर्च’ विषयक अन्तक्र्रियामा आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले नतिजामुखी विकास  योजनाको आवश्यकता रहेको भन्दै चैतपछि कुनै पनि योजनालाई स्वीकृत नगर्न  मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रम बनाएर बजेट माग गरे त्यो वैज्ञानिक हुने भन्दै उनले राष्ट्रिय प्राथमिकता अनुसार बजेट विनियोजन र कार्यक्रम निर्धारण गरिनुपर्नेमा जोड दिए ।

पूर्व अर्थसचिव युवराज भुसालले स्थानीय निकायको चुनाव नहुँदा आवश्यकता कहाँ र कुन ठाउँमा बढी छ भन्ने कुराको निक्र्यौल हुन नसकेको बताए । उनले सरकारले अझै कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउँदै बजेट प्रयोगसम्बन्धी नीतिको खाँचो औँल्याए ।

अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख डा वैकुण्ठ अर्यालले गत वर्षको तुलनामा यस वर्ष ४७ प्रतिशत पुँजीगत खर्च बढेको जानकारी दिए । उनले पहिले बजेट विनियोजन भए पनि मात्र कार्यक्रम बनाइन्थ्यो, अहिले कार्यक्रम ल्याएपछि मात्र बजेट छुट्याइन्छ,यसले बजेट फ्रिज हुने वा रकमान्तर हुने सम्भावना घट्ने बताए । रासस