‘शिक्षकबाट विद्यालयमै बालिका बलात्कृत’

मकवानपुर : मकवानपुरको थाहा नगरपालिका–४ स्थित सिद्धिगणेश निम्न माध्यमिक विद्यालयका एक शिक्षकले आफ्नै विद्यार्थी माथि बलात्कार गरेका छन् ।

सिद्धिगणेश निमाविका शिक्षक दिनेश सुवेदीले सोही विद्यालयमा अध्यरत ९ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थी र अभिभावकहरुले विद्यालयमा तोडफोड गरेका छन् ।

केही दिनअघि शिक्षक सुवेदीबाट बलात्कृत भएकी बालिकाले बुधबार विहान विद्यालय जान नमानेपछि अभिभावकले सोधखोज गर्दा घटनाको रहस्य खुलेको हो ।

बलात्कारपछि बालिकाको संवेदनशील अंगबाट रगत बगेर उनी विरामी परेकी थिइन् । बालिकाले आफूमाथि बलात्कार गर्ने शिक्षक दिनेश सुवेदी रहेको बताएपछि उनलाई विद्यालयमै नियन्त्रणमा लिएर राखिएको छ ।

घटनाको रहस्य खुलेपछि शिक्षक र अभिभावले सोधीखोजी गर्दा शिक्षक सुवेदीले बालिका बलात्कारको घटना स्वीकारेका थिए । घटना सार्वजनिक भएपछि सयौं अभिभावक र विद्यार्थीहरुले विद्यालय घेरेका छन् । विद्यालयमा तनाव भएपछि सदरमुकामबाट समेत प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।