पूर्व पर्यटन दूत भण्डारी १४ ब्रिटिश पर्यटक सहित पुगे काठमाडौं

लन्डन । बेलायतका लागि नेपालका पूर्व  पर्यटन दूत पशुपति भण्डारी १४ जना  ब्रिटिश पर्यटकहरुसहित दुई साता लामो नेपाल भ्रमणको क्रममा काठमाडौं पुगेका छन्।

नेपाल प्रस्थान गर्नु अघि बुधबार हिथ्रो विमानस्थलमा लण्डननेपालन्युज डटकमसंग कुरा गर्दै पूर्व पर्यटन दूत भण्डारीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन आह्वान गरे अनुरुप ब्रिटेनमा भ्रमण वर्षको प्रचारप्रसार गर्ने  उद्देश्यले  ‌ ब्रिटिश नागरिक तथा व्यवसायीहरुको समूह लिएर नेपाल जान लागेको बताए।

उनले नेपाल पर्यटन बोर्डले आफुलाई दिएको दुई वर्षको पर्यटन दूतको जिम्मेवारी पुरा भएता पनि नेपालको प्रबर्द्धन गर्नेकाममा आफु लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे।

 उनले यस अघि ४४ जना ब्रिटिश स्काउटहरु तथा १८ जना ब्रिटिश पर्यटकहरुको टोली नेपाल लिएर गएको पनि स्मरण गरे।

भ्रमण टोलीकी एक सदस्य तथा साउथइस्ट लण्डन च्याम्बर अफ कमर्शकी अध्यक्ष हेलेन म्याकिन्टोशले आफ्ना साथीहरुसहित पहिलो पटक नेपालको भ्रमणमा जान लाग्दा आफु निकै उत्साहित भएको बताइन्।  उनले नेपालको भ्रमणकासाथै नेपाली व्यवासायीहरुसंग संबन्ध विस्तार गर्न पनि आफु इच्छुक रहेको बताइन्।

बेलायतस्थित एभरेष्ट इन समूहका निर्देशक तथा साउथइस्ट लण्डन च्याम्बर अफ कमर्शका बोर्ड सदस्य यादव भण्डारीले नेपाललाई निकै मन पराउने र आफुले पहिलेदेखि नै चिनीरहेका ब्रिटिश मित्रहरु सहित नेपालको भ्रमण गर्न लाग्दा आफुलाई निकै खुसी लागेको बताए। उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आआफ्नो तर्फबाट सक्दो पहल गर्न सबै गैरआवासीय नेपाली मित्रहरुलाई अपील  पनि गरे।

दुईसाता लामो नेपाल भ्रमणको क्रममा सो टोलीले काठमाडौं, पोखरा, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, सौराहा चितवन तथा पुनहिलको पाँचदिन लामो पदयात्रा पनि गर्नेछ।