यस वर्ष दश हजार युरोपेली नागरिक जिहादी बन्ने अनुमान

पेरिस, २४ फागुन । यस वर्षको अन्त्यसम्म दश हजार युरोपेली नागरिक इराक तथा सिरियामा जिहादमा संलग्न हुने चेतावनी फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भाल्सले आइतबार दिनुभएको छ । हाल यसको एक तिहाइ मात्र यस्तो युद्धमा संलग्न भएको अनुमान गरिएको छ । उहाँले फ्रान्सेली टेलिभिजन च्यानल आईटेललाई हाल इराक तथा सिरियामा तीन हजार युरोपेली नागरिक जिहादमा संलग्न भएको बताउनुभयो । उहाँले गृष्मको आरम्भअगाडि पाँच हजार र यस वर्षको अन्त्यसम्म १० हजार युरोपेली नागरिक यस्तो युद्धमा संलग्न हुने बताउनुभयो ।
उहाँले यस प्रतिनिधित्वको चुनौती निकै ठूलो भएको बताउनुभयो । उहाँले करिब एक हजार ४०० व्यक्ति हाल युद्धक्षेत्रमा रहेको, त्यहाँबाट फर्केको तथा त्यहाँ जाने योजनामा रहेको बताउनुभयो । उहाँले युद्धक्षेत्रमा युरोपेली मूल्यविरुद्ध युद्ध गर्दागर्दै हतियारसहित ९० फ्रान्सेली नागरिकको मत्युभइसकेको बताउनुभयो ।
इस्लामिक स्टेट नाम गरेको जिहादी समूहले सिरिया तथा इराकका ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ र बेल्जियम तथा फ्रान्सका नागरिक ठूलो सङ्ख्यामा यस समूहमा रहेर काम गर्न पलायन भएको बताइएको छ ।
गत महिना फ्रान्सले आफ्ना छ नागरिकको राहदानी जफत गरेको थियो र ४० भन्दा बढीलाई विदेशमा यात्रा गर्न प्रतिबन्ध लगाएको थियो । यस मुलुकले ती नागरिकले सिरिया तथा इराकको भ्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ ।
फ्रान्सले नोभेम्बरमा आतङ्कवाद नियन्त्रणसम्बन्धमा नयाँ कानुन तयार गरेको छ । यसपछि यी पाइला लिएको बताइएको छ । फ्रान्सेली प्रधानमन्त्री भाल्सले फ्रान्स, युरोप तथा अन्य मुलुकले यस प्रकारको चुनौती उच्च रूपमा भोग्नुपर्ने बताउनुभयो ।