काठमाडौं, २४ फागुन । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले वार्तामा बस्ने आफूहरुको निर्णयलाई कांग्रेस-एमालेले समय कटाउने खेल सम्झिए परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । उनले सत्तारुढ दल वार्ताबाट निकास निकाल्ने पक्षमा नरहेको आरोप समेत लगाए ।
१०५ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महिला विभागले केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार गरेको विचार गोष्ठीमा प्रचण्डले भने-‘प्रधानमन्त्रीले सहमतिबाट निकास निकाल्ने र संविधान सभाबाट सहमतिका आधारमा संविधान जारी गर्ने भनेकाले वार्तामा बसेका हौं, हाम्रो लचकतालाई हल्काफुल्का रुपमा लिइयो भने परिणाम गम्भीर हुन्छ ।’
आफूहरु वार्ताबाट निकास निकाल्न गम्भीर भएपनि सत्ताधारी दलहरु गम्भीर नदेखिएको उनको आरोप छ । ‘केपी ओलीलाई रुघाखोकी लाग्यो, माधव नेपाललाई खबरै भएन’ उनले भने-‘छलफल नसकी कांग्रेस नेताहरु पूर्वपश्चिम लागे ।’
आफूहरुलाई वार्तामा अल्मल्याएर आन्दोलन भाँड्ने योजना भइरहेको उनले शंका व्यक्त गरे । प्रचण्डले आउँदो ३० गतेसम्म पनि सहमति नभए आन्दोलनमा जाने बताए ।
अहिलेको वार्ताको वातावरण फागुन १६ गतेको जनप्रदर्शनका कारण सम्भव भएको भन्दै उनले अर्को आन्दोलनले सहमति बनाउन सहयोग गर्ने दाबी गरे । प्रचण्डले भने-‘कांग्रेस-एमाले माने भने संविधान बन्छ नत्र आन्दोलन उठ्छ । महिला, दलित, मधेसी, आदिवासी, जनजाति लगायतका समुदायहरुको अधिकार प्राप्त नभए संघर्षमा जान्छौं ।’
१६ गतेको प्रदर्शनलाई एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले अपमान गर्ने शैलीमा टिप्पणी गरेको उनले आरोप लगाए ।
पार्टीमा सांगठनिक विकास भएन
देश संक्रमणकालिन पीडाबाट गुज्रिरहेको पार्टीमा पनि समस्या परेको उनले बताए । हेटौंडा महाधिवेशनबाट अबको क्रान्ति नयाँ जनवादीबाट समाजवादी क्रान्तिको दिशामा गएको निश्कर्ष निकालिए पनि सो अनुरुपको सांगठनिक विकास नहुँदा पार्टी अलमलमा परेको उनले बताए ।
‘हामीले विकास गरेको रणनीति अन्तरगत वैचारिक विकास भएन’ प्रचण्डले भने-‘पुरानो सामाजिक संरचना पुरै भत्किएको छैन र नयाँ पुरै बनिसकको पनि छैन, त्यसले समस्या भएको हो ।’
चुलो चौको छोडेर युद्धमा हिँडेका महिलाहरु पनि संक्रमणकाल कारण देशका लागि नेतृत्व गर्नुभन्दा पुरानो पितृसत्तावादी चिन्तन तिर जान थालेको उनले धारणा राखे । प्रचण्डले भने-‘संक्रमणकालिन लडाई निकै अप्ठ्यारो लडाईं हो, अधिकार प्राप्तीको संघर्षमा डटिरहनुको विकल्प छैन ।’






