मील्टन किन्स समाजले पढ्न यूके आएकी स्व.सदीक्षा तामाङको परिवारलाई गर्र्यो ७ लाख बढी सहयोग

लण्डन । अध्ययनका लागि बेलायत आएको ५ महिना नहुँदै ज्यान गुमाएकी सदिक्षा तामाङको परिवारलाई नमस्ते मील्टन किन्स समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।

दोलखा स्थाई घर भई काठमाण्डौमा बस्दै आएकी २१ बर्षीय सदिक्षाको वैशाख २७ गते निमोनियाका कारण मिल्टन किंस हस्पिटलमा उपचारकै क्रममा ज्यान गएको थियो । स्व. तामाङको परिवारलाई समाजले ७ लाख १५ हजार ९४ रुपैयाँ प्रदान गरेको हो ।

समाजका अध्यक्ष सोवीत मल्ल, महासचिव आदर्श श्रेष्ठ, सह-सचिव डाईमन्ड बस्नेत, सह-कोषाध्यक्ष विकास थापा र जनसम्पर्क संयोजक यज्ञ पाठकले स्व. तामाङको बुवा कृष्ण प्रसाद ठोकर तामाङलाई  भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणको क्रममा ठोकरले आफु माथि परेको पीडा र यो दुःखको क्षणमा साथ र सहयोग गर्ने समाज र समाजका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनले स्व. छोरीको नाममा संकलित रकम अक्षकोष स्थापना गरि नेपालका जेहनदार र गरीव विद्यार्थीहरुको अध्ययनका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

नमस्ते मिल्टन किन्स समाजका अध्यक्ष सोवित मल्लले समाजको तर्फवाट समवेदना व्यक्त गर्दै स्व.सदिक्षा तामाङको निधनले समाजलाई अपुरणीय क्षति पुगेको र सिंगो समाज नै स्तब्ध भएको बताए । उनले भविष्यमा स्व. सदिक्षाको नाममा अक्षकोष मार्फ़त गर्न लागेको परोपकारी काममा पनि समाजको तर्फबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउंदै सदीक्षाका बाबुले सघाउन अनुरोध गरे लगत्तै समाजले आर्थिक सहयोग संकलन अभियान थालेको थियो । स्व. तामाङको पार्थिव शरीरलाई नेपाल लैजानका लागि पहल थालिएपनि संक्रमणको कारण नेपाल लान नसकेपछि असार २२ गते बेलायतको अल्टासटमा अन्त्येष्टि गरिएको थियो ।

समाजले आर्थिक सहयोग गर्ने सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।