लन्डन । लन्डनका युवा व्यवसायी हान्सन गौचनले एनआरएनए यूके उपाध्यक्षमा बलियो दाबी रहेको घोषणा गरेका छन् ।
एनआरएनए यूकेको २०२३-२०२५ का लागि उनले उपाध्यक्षमा बलियो दाबी रहेको घोषणा गरेका हुन् ।
‘म आधिकारिक रूपमा घोषणा गर्न चाहन्छु कि मेरो मुख्य टोली र सल्लाहकारहरुसंग धेरै चरणको बैठकपछि मैले उपाध्यक्षमा
उम्मेदवार दिने निर्णय गरेको छु’- उनले भने ।
आउंदो २२ जुलाईमा निर्वाचन हुंदैछ ।
उनले बेलायत र नेपाल दुवै सरकारका उच्चस्तरीय नेता, नीति निर्माता, मेयर, सांसद, मन्त्रीहरू र प्रधानमन्त्रीसंग प्रत्यक्ष सम्पर्क राख्दै ब्रिटिश नेपाली, ब्रिटिश गोर्खा र नेपाली जनताको हरेक अधिकारका लागि लड्ने वाचा पनि उनको छ ।
‘म सधैं जनताको आवाज बन्ने छु । ब्रिटिश गोर्खाको अधिकारका कुरा गर्दा जनता र नीति निर्माताहरू अन्योलमा परेकाले म ब्रिटिश नेपाली, ब्रिटिश गोर्खा र यूकेका नेपालीका फरक–फरक अधिकारलाई स्पष्ट रूपमा वर्गीकरण गर्नेछु’, उनले भनेका छन्, ‘बेलायत र नेपाल दुवैका नीतिनिर्मातालाई स्पष्ट रूपमा बुझाउने छु ।’
उनले आफ्नो जीत भए समाजलाई केही दिने र नेपाली समाजको उन्नति आदिका लागि एनआरएनए यूके प्लेटफर्ममा युवाहरुलाई संलग्न हुन प्रोत्साहित गर्ने पनि जनाए ।
उनले साना, मझौला र ठूला व्यापारिक सम्बन्धका साथै बेलायत र नेपालबीच घरजग्गा उद्योगलाई जोडेर नेपालको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले एनआरएन यूके उपाध्यक्षमा आफूलाई मत दिन सबै मतदातामा अपिल पनि गरेका छन् ।






