राष्ट्रिय सुरक्षाको विषय कुनै दलविशेष र गुटविशेषको मात्रै विषय बन्नुहुन्न : भट्टराई

‘छिमेकीहरुसँग झुक्ने पनि होइन, छिमेकीहरुलाई चिढ्याउने पनि होइन’

baburam bhattaraiकाठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सुरक्षाको विषय कुनै दलविशेष, दलभित्र पनि गुटविशेषको विषय बन्न नहुने बताउनुभएको छ । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद् आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा उहाँले राष्ट्रिय सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुरक्षाको विषय गतिशील हुने र अवस्था र परिस्थितिअनुसार सुरक्षा नीति तय हुनुपर्ने बताउनुभयो । सरकार बनेको एक वर्ष पनि बित्न नपाउँदै सरकार परिवर्तन भइरहने हो भने राष्ट्रिय सुरक्षा कमजोर हुने भन्दै उहाँले लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताउनुभयो ।

आन्तरिक राष्ट्रिय एकताका लागि देशभित्रका सबै राष्ट्रियता/जातिहरुको बीचमा एकता आवश्यक हुने उहाँले बताउनुभयो । बाह्य रुपमा छिमेकीहरुसँग न त झुक्ने न त चिढ्याउने नीति लिनुपर्ने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । आर्थिक पाटो पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै उहाँले तीब्र आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्ने र अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । तत्कालीन भूराजनीतिक परिस्थितिलाई पनि ख्याल गनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय सुरक्षा मजबुत बनाउनका लागि हाम्रा सुरक्षा निकायहरुको पनि पुन:संरचना आवश्यक भएको उहाँले बताउनुभयो । सुरक्षा निकायहरुको पुन:संरचना गरेर वैज्ञानिकीकरण र आधुनिकीकरण गर्न सक्दा मात्रै तत्कालीन सुरक्षा खतराको सामना गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द लगायतले राष्ट्रिय सुरक्षा नीतिका विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।