काठमाडौँ- सत्तारूढ दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन । निर्वाचन आयोगले दलहरूले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ गरेको खर्चको विवरण बुझाउन ५ चैत सम्मको समय दिएकोमा एमालेले तोकेको मिति भन्दा १५ दिन बढी हुँदा समेत खर्च विवरण बुझाएको छैन ।
निर्वाचन आयोगका अनुसार एमाले बाहेकका मुख्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी सहित साना दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिक, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, चुरेभावर पाटी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दर्शन पार्टी लगायतले भने प्रतिनिधिसभा निर्वाचनमा गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खर्च विवरण आयोगलाई बुझाएका छन् ।
आयोगमा दलहरूले बुझाएको खर्च विवरण राख्ने फाँटका शाखा अधिकृत घमचन्द्र तिमल्सिनाले ५ चैत सम्ममा एमाले बाहेकका दलको खर्च विवरण आयोगमा आएको बताए ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले सो बारे आफूलाई जानकारी नभएको र आफ्नो क्षेत्राधिकार भित्रको विषय नभएको भन्दै कार्यालय सचिवलाई सम्पर्क गर्न आग्रह गरे । सो बारे बुझ्न कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठसँग पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन ।






