काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै भारत भ्रमण गर्न इच्छुक रहेको सन्देश दिल्ली पठाएका छन् ।प्रधानमन्त्रीमा निर्वाचित भएलगतै भारतीय राजदूत रणजीत रायसँग भएको भेटमा ओलीले भारत भ्रमणको कार्यतालिका तय गर्न आग्रह गरेका हुन् ।
भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित प्रेस ब्रि फिङमा प्रवक्ता विकास स्वरुपले छिट्टै नेपालका प्रधानमन्त्रीको भ्रमण तय गरिने बताए ।
२४ गते संसदबाट बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीमा निर्वाचित भए लगतै ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको थियो ।
फोन सम्बादमा मोदीले ओलीलार्इ भारत भ्रमणको निम्तो दिएका थिए । त्यसको भोलिपल्ट ओलीले प्रधानमन्त्रीका रुपमा सपथ लिनुअघि नै भारतीय राजदूत रायसँग भेट गरेका थिए ।
उनले नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको शनिबारबाट हुने भ्रमणबारे जानकारी दिएका छन् । उनका अनुसार थापाको दिल्लीमा समकक्षी सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरसँग मात्र भेट हुनेछ ।
थापाको भ्रमण नेपालको पछिल्लो राजनीतिक परिस्थिति र दुई देशबीचको सम्वन्धबारे छलफल गर्ने अबसर भएको उनले बताए ।
कुनै नाकाबन्दी छैन
नेपालका प्रधानमन्त्री ओलीले संसदमा अघोषित नाकाबन्दी रहेको बताएका छन् नि भन्ने प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकासले घोषित वा अघोषित नाकाबन्दी नलगाएको दाबी गरे । उनले दुई देशको सीमामा अझै पनि नेपाली पक्षमा अवरोध रहेको दोहार्याए ।
उनले नेपालको तराई मधेसका विभिन्न स्थानमा भएको प्रदर्शन उल्लेख गर्दै भने-हाम्रा ट्रकहरु नेपाल जान प्रतिक्षारत छन् । त्यहाँ कुनै प्रकाशको नाकाबन्दी छैन ।’






