हराएको विमानका आफन्तको सम्झना

बेइजिङ्ग, २४ फागुन । चिनियाँ आफन्तजनले गत वर्षको मार्चमा बेपत्ता भएको मलेसियाली विमानमा बेपत्ता भएका आफ्ना आफन्तहरुको एक वर्ष पुगेको सम्झना गरेका छन् । मलेसियाको वायुसेवा मलेसियन एअरलाइन्सको बोइङ ७७७ विमान गत वर्षको मार्च ८ का दिन बेपत्ता भएपछि हालसम्म फेलापर्न सकेको छैन ।
सो मलेसियाली विमानमा बढी चिनियाँ नागरिक रहेका र ती आफन्तजनहरुले सम्बन्धित अधिकारीहरुबाट आफूहरु निराश भएको र विश्वकै ठूलो हवाईसेवाको रुपमा रहेको यस मलेसियाली एअरलाइन्सका विमान बेपत्ताको घटनाको रहस्य जाने इच्छा रहेको बताएका छन् ।
गतवर्ष ८ मार्चका दिन मध्यरात १२ः४० मिनेट जाँदा क्वालालम्पुर विमानस्थलबाट चीनको राजधानी बेइजिङतर्फ उडेको उडान नं. एमएच३७० को विमान प्रस्थान गरेको ५० मिनेटपश्चात् स्थानीय समयअनुसार रातको १ः३० बजेपछि सञ्चार सम्पर्कमा नआएपछि बेपत्ता भएको थियो । हवाईसेवाको इतिहासमा यो घटना रहस्यको गर्भमा लुकेको छ ।
विमानमा १५३ चिनियाँ नागरिक, धेरै सङ्ख्यामा अस्ट्रेलियाली, केही मलेसियाली, केही अमेरिकी, केही न्युजिल्यान्डेली र बाँकी अन्य देशका नागरिक, चालकदलका १२ सदस्यसहित २३९ यात्रु रहेका सम्बन्धित वायुसेवाले जानकारी दिएको थियो ।
प्रथम दायित्व बहन गर्ने मलेसिया, आफ्ना धेरै नागरिकहरू परेका कारण चीन, अस्ट्रेलिया, अमेरिकालगायत २६ भन्दा बढी मुलुकले खोजी कार्यलाई निरन्तर सघाई महिनौँसम्म खोजी गर्दा पनि यात्रु, सरसामान वा विमानको अवशेषलगायत केही पनि फेलापर्न सकेको छैन । विमानको अवस्था आजसम्म अज्ञात रहेको छ ।