काठमाडौं– पहिलो र दोस्रो चरणको चुनावमा अपेक्षाकृत जित निकाल्न नसकेको निश्कर्षमा पुगेको माओवादी केन्द्रको चुनावी नतिजाको समीक्षा र भावी योजना निर्माणका लागि वैठक बस्दैछ । तर, वैठकको तयारी भने केही भएको छैन ।
साउन २ गते अर्थात भोलि केन्द्रीय सचिवालय सदस्य र जिल्ला इन्चार्जहरु सहभागी हुने गरी वैठक आव्हान भएको छ । तर, वैठकमा के हुन्छ भन्ने एजेन्डा चाहीँ केन्द्रीय कार्यलयले दिएको छ ।
वैठक आव्हान गरेर पार्टी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि वैंकक गएका थिए । उनी आज काठमाडौं फर्कदै छन् । वैंकक गएपछि प्रचण्डले वैठकका लागि विस्तृत गृहकार्य गरेका छैनन् ।
‘वैठक बस्ने भनिएको छ । चुनावी समीक्षाको कुरा छ । अरु गृहकार्य केही छैन ।’ एक केन्द्रीय सचिवालय सदस्यले भने, ‘पहिला अध्यक्षका कुरा सुनौँ , त्यसपछि आफ्ना कुरा राखौलाँ ।’
माओवादीभित्र स्थानीय तहको चुनावी परिणामलाई लिएर निकै ठूलो उथलपुथल भएको छ । चुनाव आफ्नो अनुकुल नभएकोमा धेरै ठाउँमा नेताहरु असन्तुष्ट छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने चुनावी नजिता जसको पक्षमा गएपनि एजेन्डामा माओवादीको जित भएको बताउँदै आएका छन् ।
स्थानीय तहको दुवै चरणको चुनावमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । माओवादीलाई पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ तहमा मात्र जित प्राप्त गरेको छ ।
भोलि बस्ने वैठकमा के गर्दैछ माओवादी ?






