युवतीहरु ओसारपसार गर्नेहरु पक्राउ

काठमाडौं, ६ भदौ ।  खाडी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाई २७ नेपाली युवती विभिन्न नाकाबाट ओसार पसार गरी भारतको दिल्ली पुर्‍याउने कार्यमा संलग्न चारजनालाई प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं ७ सानोठिमी बस्ने खोटाङ टेम्मा–२ घर भएका ३८ वर्षीय सुशिल भन्ने सुजिल राई, महोतरी रामनगर–१ घर भई हाल भक्तपुर नयाँ ठिमी बस्ने ४३ वर्षीय राजबाबु श्रेष्ठ, काठमाडौं सिनामंगल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे–२ का ३२ वर्षीय दयाराम पण्डित भन्ने ईश्वर न्यौपाने र सिन्धुपाल्चोक गुम्बा–६ का २७ वर्षीय विष्णु तामाङ रहेका छन् ।
न्यौपाने र तामाङलाई साउन ९ गते भारतको नयाँ दिल्ली महिपालपुरबाट, श्रेष्ठलाई भदौ २ गते सलाही शंकरापुर–९ सोल्टी बजारबाट तथा राईलाई साउन २६ गते भक्तपुर गुण्डुबाट पक्राउ गरिएको हो ।
आर्थिक रूपमा विपन्न युवतीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाइ नेपालका बिभिन्न स्थानबाट भारत पुर्‍याई दुवई, कुवेत, कुर्दिस्तान (इराक) लगायतका देशहरुमा पठाउन लागेको अवस्थामा २७ जना नेपाली युवतीहरुलाई साउन ५ गते भारतीय प्रहरीद्धारा नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी एयरपोर्ट तथा साउन ९ गते विभिन्न होटलहरूमा राखिरहेको अवस्थामा उद्दार गरेको थियो ।
नेपाल सरकार तथा नेपाली दुतावास समेतको पहलमा साउन १९ गते पिडित नेपाली युवतीहरूलाई नेपाल फिर्ता ल्याइएको र थप अनुसन्धानको लागी पिडित युवतीहरुबाट प्रारम्भिक सोधपुछ गर्दा खुल्न आएका उनीहरुलाई मानब बेचबिखन तथा ओसार पसार र संगठित अपराध मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
भारतको नयाँ दिल्ली, महिपालपुरबाट उद्धारकै क्रममा पक्राउ परेका दयाराम पण्डित भन्ने ईश्वर न्यौपाने र बिष्णु तामाङलाई भारतीय प्रहरीद्धारा पक्राउ गरी अनुसन्धान भई रहेको उनीहरुलाई अनुसन्धान पश्चात नेपाल ल्याउन आवश्यक कुटनैतिक पहल भई रहेको छ । पिडित युवतीहरूलाई जाहेरी दरखास्त तथा बयान पश्चात आफन्तहरूको जिम्मा लगाएको र अन्य संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ ।