लण्डन । बेलायतको नेपाली समुदाय र त्यसभित्र पनि विशेषतः गोर्खाहरुको संलग्नतामा सञ्चालित ईनर्जी सप्लायर (उर्जा वितरक) कम्पनी जीनर्जी लिमिटेड कम्पनीले आफ्नो सेवालाई मुख्य प्राथमिकताका साथ नेपाली समुदायको हितमा केन्द्रित गरेको छ ।

सन् २०१३ बाट सञ्चालनमा आएको र २०१४ मा औपचारिक उद्घाटन भएको जीनर्जीले अहिले बेलायतभरमा ११ हजार भन्दा बढि उपभोक्तालाई विद्युत तथा ग्यास वितरण गरिरहेको छ ।
शनिबार बेलायतको फार्नबरोस्थित भिलेज होटेलमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले सन् २०१९ सम्म १७ हजार र २०२० सम्म ३० हजार उपभोक्तासम्म पुग्ने लक्ष्य बनाएको जानकारी दिइयो । जीनर्जी लिमिटेडका सिईओ रिटायर्ड मेजर टिकेन्द्र दल देवानले जीनर्जी लिमिटेड ईनर्जी सेक्टरमा बेलायतमा मात्र नभएर सिंगो विश्वमै कम्युनिटी लेड (सामुदायिक रुपमा सञ्चालित) पहिलो प्रोजेक्ट भएको दाबी गरे ।

जीनर्जी स्थापनाको चौंथो वर्षसम्म आइपुग्दा यसको कारोबार १ करोड २० लाख पाउण्ड पुगेको छ । कम्पनी अहिले मुनाफा बनाउने चरणमा आइपुगेको जनाउंदै सिईओ देवानले अब नेपाली समुदायले कम्पनीमा लगानी गर्न र यसको सेवा लिनका लागि ढुक्क हुन सक्ने अवस्था बनेको जनाए ।
कम्पनीमा अहिलेसम्म ३ सय भन्दा बढि लगानीकर्ताले कुल २८ लाख पाउण्ड बराबरको लगानी गरेका छन् । लगानीकर्ताहरुमा अपवादबाहेक सबै नेपाली छन् । त्यस्तै, अहिलेसम्मका कम्पनीका ११ हजार उपभोक्तामा भने नेपालीहरु करिब साढे ८ प्रतिशत मात्र छन् ।
कम्पनीले नेपालीहरुको लागि लगानीको सुवर्ण अवसरका साथसाथै प्रतिस्पर्धी दरमा सहज, भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराइरहेको सिईओ देवानले बताए । सिईओ रिटायर्ड मेजर टिकेन्द्र दल देवान जीनर्जीले विभिन्न समुदाय तथा संघसंस्थाहरुलाई लक्षित गर्दै लोयल्टी स्किम समेत सञ्चालन गरेको छ । जसअन्तर्गत समुहमा कम्तीमा १० वटा घर जीनर्जीमा दर्ता गर्ने संस्थाले १ घरको २० पाउण्डको दरले वार्षिक २ सय पाउण्ड लोयल्टीबापत पाउन सक्छन् ।
अमेरिकी कम्पनी मसिनिस्ट्स युएसए इन्क , वेल्सस्थित ईनर्जी कम्पनी सिडवेल्थियो र नेपालमा जलविद्युत क्षेत्रमा कार्यरत विभिन्न कम्पनीसंगको समेत सहकार्यमा जिनर्जी अहिले बिस्तारको क्रममा अघि बढिरहेको छ । उक्त कार्यक्रममा अमेरिकी कम्पनी मसिनिस्ट्स युएसए इंकका युरोप प्रमुख डा रेमण्ड डेभिस, वेल्सस्थित इनर्जी कम्पनी सिडवेल्थियो लिमिटेडका म्यानेजिंग डाइरेक्टर वाइन क्रम्पटन, यूके नेपाल फ्रेण्डसिप सोसाइटीका सिइओ एलन मार्सल सांकाले छुट्टाछुट्टै प्रिजेन्टेसन गर्दै जीनर्जीसंग उनीहरुको सहकार्य र बेलायतस्थित नेपाली समुदाय तथा समग्र नेपालको हितको सन्दर्भमा जीनर्जीको माध्यमबाट हुन सक्ने भुमिकाका विषयमा बताएका थिए ।
जीनर्जी लिमिटेडको तर्फबाट तपस गुरुंगले प्राविधिक प्लेटफर्म, शिशिर गुरुंगले ग्रोथ फोरकास्ट , विजय थापाले वर्तमान चुनौतीहरु तथा सिईओ देवानले अवसरहरुको बारेमा फरक फरक प्रिजेन्टेसन गरेका थिए । कम्पनीको बोर्ड अफ डिरेक्टरर्स प्रमुख मेजर रिटायर्ड कुलबहादुर थापाले स्वागत मन्तव्य राखेका थिएका भने बोर्ड महासचिव रामलाल श्रेष्ठले कार्यक्रमको सुरुआत गरेका थिए ।

कार्यक्रममा कम्पनीका बोर्ड अफ डिरेक्टर्सका सदस्यहरु, लगानीकर्ताहरुका साथै बेलायतस्थित विभिन्न नेपाली संस्थाका प्रतिनिधी, ईच्छुक लगानीकर्ता र उल्लेख्य संख्याका मिडियाकर्मी उपस्थित थिए ।
भूपू गोर्खाहरुकै नेतृत्वमा व्यवस्थापन भइरहेको यो कम्पनीमा अहिले गोर्खा परिवारकै २ दर्जन युवाहरुले रोजगारी पाएका छन्।
जीनर्जी लिमिटेड कम्पनीले पत्रकार सम्मेलन गरेको लण्डन नेपाल न्यूज़ डट कम का प्रधान सम्पादक शिब भण्डारी ले तयार पारेको हेर्नुहोस यो स्थलगत भिडियो रिपोर्ट :







