सरकार र विपक्षीबीच भोलिदेखि वार्ता

लामो समयको संवादहिनतापछि सत्ता पक्ष र विपक्षी दलहरुले औपचारिक वार्ता भोलिदेखि सुरु गर्ने भएका छन् । प्रधानमन्त्री सुशील कोइराला र ३० दलीय मोर्चाका संयोजक तथा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार विहान भएको भेटवार्तापछि भोलिदेखि वार्ता गर्ने उनीहरुबीच सहमति भएको थियो । उहाँहरुबीच जारी राजनीतिक समस्या कसरी हल गराउने भन्नेमा विषयमा समेत छलफल भएको बुझिएको छ ।
गत माघ ११ गते सत्तारुढ दलले एकलौटी बहुमतीय प्रक्रिया सुरु गरेपछि दलहरुबीचको सम्बन्धमा दरार आएको थियो । यसअघि हिजो बसेको ३० दलीय मोर्चाको बैठकले प्रक्रिया रोकाउन र सहमतिबाटै संविधान जारी गर्ने वातावरण बनाउन वार्तामा बस्ने निर्णय गरेको थियो । मोर्चाले २५ गतेसम्म सहमतिको विश्वासिलो वातावरण ननाउन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह गर्नेछ । त्यस अवधिमा प्रक्रिया खारेज गरेर सहमतितिर राजनीति अगाडि नबढे २६ गते बैठक बसेर आन्दोलनको कार्यक्रम ल्याउने मोर्चाको तयारी छ ।