त्रिभुवन विमानस्थल सुचारु भएन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानदेखि अवरुद्ध अन्तर्राष्ट्रिय उडान–अवतरण अनिश्चित भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले मध्यान्न ११ बजेदेखि उडान अवतरण सुरु हुने बताए पनि धावनमार्गमा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमानलाई अझै हटाउन सकिएको छैन । उडड्यन प्राधिकरणका प्रवक्ता पूर्णप्रसाद चुडालले जहाज दबेको ठाउँबाट उठाइएको तर हटाउन नसकिएको जानकारी दिनुभयो । पाङ्ग्राहरु पन्चर भएको, पाटपूर्जा बिग्रिएको र धावनमार्गमा पनि क्षति पुगेकोले विमानलाई गुडाउँदै पार्किङ स्थलसम्म लैजान अझै केहि समय लाग्ने छ । प्राविधिक टोलीले पन्चर भएका पाङ्ग्रा र पार्टपूर्जा मर्मतको काम जारी राखेको छ । विमानलाई धावनमार्गबाट हटाउन भारतीय र नेपालका प्राविधिकहरुले रातभर पनि काम गरेका थिए । नेपालको जनशक्ति र उपकरणले नसकेपछि हिजो दिउँसो भारतबाट विशेष विमानमार्फत् विज्ञ टोली नेपाल ल्याइएको थियो । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको जम्मा लम्बाई १० हजार ४० फिट रहेको र विमान दुर्घटना भएको ठाउँभन्दा उत्तरतर्फको आधा धावनमार्गबाट आन्तरिक उडानहरू भइरहेका छन् । विरलै हुने यस किसिमको दुर्घटना नेपालको उड्डयन सेवाको ६३ वर्षे इतिहासमा पहिलो पटक भएको विमानस्थल कार्यालयले जनाएको छ ।