राष्ट्रपति रनिङ सिल्डको उपाधि पवन प्रकृतिलाई

काठमाडौं, २१ फागुन । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि पवन प्रकृति विद्यालयले हासिल गरेको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज आयोजित उक्त प्रतियोगितामा पवन प्रकृतिले दुई सय दुई अङ्क जोड्दै उपाधिमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा एक सय नौ अङ्कका साथ बज्र एकेडेमी दोस्रो तथा ७९ अङ्कका साथ सेन्ट जेभियर्स स्कुल, गोदावरी तेस्रो भए । प्रथम, दोस्रो तथा तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु १५ हजार, १२ हजार र ९ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी छात्रतर्फको भलिबलमा पवन प्रकृति र छात्रामा माउन्ट ओलिभ पहिलो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उक्त प्रतियोगितामा छात्रतर्फको फाइनल खेलमा पवन प्रकृतिले भ्याली पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै पहिलो भएको हो । त्यस्तै बज एकेडेमी भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
छात्राको फाइनलमा माउन्ट ओलिभले पवन प्रकृतिलाई २–० को सीधा सेटमा हरायो । नमुना इङलिस स्कुल तेस्रो भयो ।
एथलेटिक्सको छात्रमा पवन प्रकृतिका विजय कार्की तथा छात्रामा सेन्ट मेरिजकी अनु दाहाल उत्कृष्ट खेलाडी चुनिए । भलिबलको छात्रमा पवन प्रकृतिका सविन तामाङ र छात्रामा माउन्ट ओलिभकी मनु बम्जन उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट घोषित हुने चारै खेलाडीले जनही रु एक हजार पुरस्कार प्राप्त गरे ।
विजेतालाई राखेपका सदस्य सचिव युवराज लामा र आयोजक समितिका अध्यक्ष राजेश लामाले पुरस्कार प्रदान गर्नुभयो ।