वार्सीलोना र बायर्न म्युनिख सेमिफाइनलमा

काठमाडौं, ९ बैशाख । स्पेनिस क्लव वार्सीलोना र जर्मनीको बायर्न म्युनिख यस वर्षको युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती आफ्नै मैदानमा भएको क्वाटरफाईनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरीस सेन्ट जर्मेन पिएसजीलाई २-० ले हराँउदै बार्सीलोना अन्तिम चारमा पुगेको हो । पहिलो लेगको खेल ३-१ ले जितेको वार्सीलोनाले समग्रमा खेल ५-१ ले आफ्नो पक्षमा पार्‍यो । गएराती भएको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोलाई ६-१ ले पाखा लगाँउदै जर्मनीको बायर्न म्युनिख पनि अन्तिम चारमा प्रवेश गर्‍यो ।
यसअघि पहिलो लेगको खेल ३-१ ले हारेको बायर्नले गएराती भने शानदार प्रदर्शन गर्‍यो । गएरातीको फराकिलो जितसँगै बायर्न म्युनिख समग्रमा ७-४ ले विजयी भएको हो । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गतका बाँकी दुई क्वाटरफाईनल खेलहरु आज राती हुनेछन् । फ्रान्समा हुने खेलमा घरेलु टोली मोनाकोसँग इटालीको युभेन्टस खेल्नेछ भने स्पेनको मड्रिडमा दुई स्थानिय क्लवहरु रियाल मड्रिड र एट्लेटिको मड्रिड भिड्नेछन् ।