नामिबियाबिरुद्ध नेपालको शानदार दोस्रो जित

paras cricketकाठमाडौं- कप्तान पारस खड्काको शतकीय पारीले आइसीसी वर्ल्ड लिग च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपाल बिजयी भएको छ । नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको छ । जितसँगै नेपाल सन् २०१९ को विश्वकप छनोटको शिर्ष चार टोलीमा पर्ने सम्भावना बढेको छ ।

नेपाली टोलीलाई जिताउन कप्तान पारस खड्काले ९३ वलको सामना गर्दै आक्रामकरुपमा १०३ रन बनाए । उनले ७ छक्का र पाँच चौका प्रहर गर्दै शतक बनाए । सुरुवाति ब्याट्सम्यानहरु सस्तैमा गुमाएको नेपाली टोलीलाई समाल्दै कप्तान खड्का र शरद भेषवाकरले जित नजिक पुराएका हुन् । भेषवाकरले ७७ रन बनाए । उनले यस लिगको दुवै खेलमा अर्धशतकीय पारी खेलेका छन् ।

कप्तान खड्का र भेषवाकरले १५० रनभन्दा बढिको साझेदारी गरेका थिए । त्यसैगरी सुरुवाति ब्याट्सम्यान ज्ञानेन्द्र खड्काले २२ रन बनाएका थिए । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले फिल्डिङ भन्दा बलिङमा राम्रो प्रर्दशन गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभर खेल्दै २३९ रन बनाएको थियो । नामिवियाका लागि एसजे वार्डले अर्धसतकीय पारी खेलेका थिए । उनले ६० बलको सामना गर्दै ५१ रन बनाए । त्यसैगरी जेई ग्रेनले ४७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि शक्ति गौचनले २, वसन्त रेग्मीले २ र एस लामिछानेले २ विकेट लिएका थिए ।