तीर्थयात्री बोकेको बस दुर्घटनामा १२ को मृत्य

धादिङ, ९ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय पर्यटक बोकेको बस दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । घटनास्थल पुगेको सशस्त्र प्रहरी बलको निलवाराही गणका एसपी काजीदास धौबुजीको टोलीले १२ को मृत्यु पुष्टि गरेको हो । सो टोलीका साथै काठमाडौं प्रहरी पनि घटनास्थलमा उद्धारमा खटिएको छ ।
दुर्घटनामा परी ३६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको उद्धार जारी रहेको पनि प्रहरीले जनाएको छ । काठमाडौंबाट गोरखपुर जादै गरेको सो बस सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको थियो । पशुपतिनाथ दर्शन गरी फर्केका तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।