काठमाडौं– भरतपुरमहानगरको १९ नम्बर वडाको मतगणना विवादमा सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आजका लागि पेशी तोकिएको छ । न्यायाधीश ओमप्रकास मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले सो मुद्धाको सुनुवाई गर्नेछन् । मिश्र र भडारीको आजको इजलासमा २ नम्बरमा राखिएको छ ।
यसअघि पटक पटक सर्दै आएको पेशी साउन ८ गतेका लागि तोकिएको हो । निर्वाचन आयोगको छानबिन समितिले च्यातिएका ९० वटा मतपत्रको रिपोर्ट बुझाएको थियो । आयोगले विवाद समाधान गर्न भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट परेको थियो ।
एमालेको तर्फबाट भरतपुर वडानम्बर १९ का सदस्यका उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भरतपुर प्रकरणमा विवादित यो वडामा सर्वोच्चले पुन मतदान गर्ने आदेश देला या मतगणना भनेर धेरैले चासोका साथ लिएका छन् ।
भरतपुरमा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । असार १४ मा दोस्रो चरणको निर्वाचनको परिणाम समेत आइसकेको अवस्थामा भरतपुरमा भने विवादका कारण पुरै महानगरको नतिजा अडिकिएको छ ।
भरतपुर प्रकरणमा सर्वोच्चले आज गर्ला त अन्तिम फैसला ?






