पत्रकारले लुटेराबाट तेह्र लाख खोस्न सफल

भक्तपुर: भक्तपुरमा पाकेटमारी भएको १३ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । गाडीमा सवार एक व्यक्तिबाट फिल्मी शैलीमा लुटिएको रकम पत्रकारले लुटेराबाट खोस्न सफल भएका छन् । पाकेटमारले बसबाट लुटेको पर्स र चेकसहितको पैनो तेह्र लाख रुपैयाँ पत्रकार सञ्जीव दाहालले सम्बन्धित धनीलाई फिर्ता गर्न सफल भएका हुन् ।

मंगलबार साँझ मध्यउपत्यका बस व्यबसायी संघद्वारा संचालित बस मध्यपुरमा थिमिमा पुगेको समयमा पाकटेरमारले यात्रु जीतबहादुर बस्नेतको पाइन्टबाट पर्स लिएर फरार हुने क्रममा पत्रकार दाहालले थुतेर त्यो पर्स लिएका थिए ।

उनले पाकेटमारासँग पर्स हात पारेपछि लुटेराले आक्रमणको प्रयास गरेका थिए । तर दाहालले प्रतिकार गरेपछि गुडिरहेकै गाडीबाट पाकेटमार भागेका थिए । गाडीमा रहेका तीन जना पाकेटमारामध्ये अगाडि बस्नेले पर्स झिकेर पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले देखेपछि पर्स थुत्न सफल भएका थिए।

दाहालले बुधबार ठिमी शंखधर चोकमा सिन्धुपाल्चोक-२ बाह्रबिसेका बस्नेतलाई नगद २८ हजार १३० र दुई बैंकका १२ लाख ८७ हजारको चेक र एटिएमसहितको पर्स फिर्ता गरे । ५२ वर्षे बस्नेत सजना इन्टरप्राइजेजका सञ्चालक हुन् ।

महाननगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी हिमालय श्रेष्ठले दाहाललाई धन्यवाद दिँदै चोरी डकैटी र लुटपाटबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने सुझाव दिए । रकम बुझ्दै बस्नेतले पर्स हराएपछि तनावमा रहेका बेला दाहालले इमान्दारिताको परिचय दिँदै फिर्ता गरेकोमा खुसी व्यक्त गरे । नगद र पर्स फिर्ता गरिएपछि दाहाललाई पाँच हजार पुरस्कार पनि बस्नेतले दिए ।