काठमाडौं । दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो ।
गए राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनी कोरियासँग २–० गोलले पराजित हुँदै ८० वर्षपछि दोस्रो चरणमा पुग्न सकेन । सन् १९३८ मा स्विट्जरल्याण्डसँग ४–२ले पराजित बन्दै दोस्रो चरणमा प्रवेश गर्न असफल भएको थियो ।
अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे ।
सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।







