भेनेजुएला संकटः मादुरो सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोड्यो

एजेन्सी- विपक्षी कार्यकर्ताहरुद्वारा सरकारी नाकाबन्दीबीच मानवीय सहयोग पुर्याउँदा भेनेजुएलाको सीमावर्ती इलाकामा हिंसा भड्किएको छ ।

कोलम्बियाको माइग्रेसन एजेन्सीले भेनेजुएला सरकारी सैनिकका केही जवानले आफ्नो चौकी छोडेको जानकारी दिएको छ ।

यस्तै, अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्न कोसिस गरिरहेका मानिसहरुमाथि भेनेजुएलाका जवानले अश्रु ग्यास प्रहार गरेको छ ।

यो ताजा विवाद भेनेजुएलामा मानवीय सहायता पुर्याउने विषयमा सुरु भएको हो । राष्ट्रपति निकोलस मादुरोले सहायत रोक्नका लागि कोलम्बियासँग लाग्ने सीमालाई आंशिक रुपमा बन्द गरेको जानकारी दिएका छन् ।

उनको सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ ।

शुक्रबार ब्राजिलको सीमा नजिक भेनेजुएला सुरक्षाबलको गोलीबारीमा दुईको मृत्यु भएको थियो । यस्तै, शनिबार करिब दुईजना मारिएको खबर छ ।

यद्यपी, स्वघोषित अन्तरिम राष्ट्रपति ख्वान ग्वाइदोले शनिबार लाखौं स्वयंसेवक मानवीय सहायता पुर्याउन मद्दत गर्ने बताएका छन् । यो सहायतमा खाना र औषधी भएको उनले बताए ।

ग्वाइदोले पहिलो खेपको सहायता ब्राजिलको बाटो हुँदै भेनेजुएला पुगिसकेको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भेनेजुएलाका दुई नेताबीच यतिबेला मानवीय सहायताको मुद्दा विशेष बनेको छ ।

कसरी भइरहेको छ प्रदर्शन ?

भेनेजुएला र कोलम्बियाको सीमाका विभिन्न तस्बिर सार्वजनिक भएका छन् जसमा सुरक्षाबलले स्वयंसेवकमाथि अश्रु ग्यास प्रहार गरिरहेको देखिएको छ । यस्तै, प्रदर्शनकारीले चौकी, सुरक्षाविरोधी र पुलिसमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।

भेनेजुएला–कोलम्बिया सीमामा सुरक्षाबलका कम्तीमा २० सदस्यले चौकी छोडिदिएका छन् ।

सोसल मिडियामा पोष्ट भएका भिडियोमा चार जवानले सार्वजनिक रुपमा मादुरोको आलोचना गर्दै ग्वाइदोलाई आफ्नो समर्थन दिएको छ ।

उनीहरुले भनिरहेका छन्, ‘हामी बुवा र छोरा हौं, हामीले अत्यधिक अनिश्चितता र अन्याय सहिसकेका छौं ।’

स्थानीय मिडियाका अनुसार मानिसहरु ब्यारिकेडमा चढेर सीमा पार गर्ने कोसिस गरिरहेका छन् । यस्तै, विपक्षी सांसदहरुले सोशल मिडियामा आफ्नो सन्देश जारी गर्दै बल प्रयोग गरेकोमा आलोचना गरिरहेका छन् ।

यता राष्ट्रपति मादुरोले राजधानी कराकसमा एक खुसी देखिएका भीडको तस्बिर ट्वीट गर्दै लेखेका छन्, ‘यहाँ कुनै युद्ध हुने छैन ।’

उनले मानवीय सहायताको नाममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा आफ्नो देशमा आक्रमण गरेको आरोप लगाएका छन् । उनले लेखे, ‘डोनल्ड ट्रम्प, भेनेजुएलाबाट आफ्नो हात हटाउ ।’

उनले ग्वाइदोलाई ‘कठपुतली’, ‘साम्राज्यवादी भिखारी’ सम्म भनेका छन् ।

वीपीआई टिभीका अनुसार भेनेजुएला–ब्राजिल सीमा नजिक एक सैन्य चौकीलाई मादुरोलाई समर्थन गर्ने सरकारले कब्जामा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *