काठमाडौं – सगरमाथा आरोहण गरेको झुठो दाबी गर्ने भारतको पुणे सहरका एक प्रहरी दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको भनेर ती दम्पत्तिले दाबी गरे पनि उक्त दाबी झुठो भएको पुष्टि भएको छ ।
पुणे प्रहरीमा कन्सटेबल रहेका ३० वर्षीय दिनेश र तार्केश्वरी राठौरले गत जुन ५ मा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले सफलतापूर्वक सगरमाथाको आरोहरण गरेको र यसो गर्ने आफूहरु पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेका थिए । उनीहरु पुणे प्रहरीको शिवाजीनगर प्रहरी हेडक्वाटरमा कार्यरत छन् ।
पुणे प्रहरीका कमिस्नर रश्मी शुक्लाले इन्डियन एक्सप्रेससँग कुरा गर्दै नेपाल सरकारले उनीहरुलाई १० वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेकी छिन् । नेपाली अधिकारीहरुले यसबारेमा पुणे प्रहरीलाई पत्र पठाएको उनले बताएकी छिन् ।






