सहमति नभए प्रक्रियाबाटै संविधान बन्छ : पौडेल

भैरहवा, २३ फागुन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडलले अबको वार्तामा पनि सहमति नभए प्रक्रियाबाटै संविधान निर्माण हुने बताएका छन् ।

गणेशमान सिंहको जन्म शताब्दीको अवसरमा सरकारी कोषबाट सञ्चालन भइरहेको नेपाली कांग्रेसको ‘गणेशमान बलिदान अभियान अन्तर्गत’ भैरहवामा आयोजित कार्यक्रममा पौडेलले सो कुरा बताएका हुन् ।

संविधान बनाउनका लागि हामीहरुले पुन: उनीहरुलाई वार्ताको टेबलमा ल्याएको भन्दै उनले भने-‘यदि उनीहरु पुन: वार्ताको टेबलबाट बिना सहमतिको फर्किए त्यसपछि प्रक्रियाबाट नै संविधान जारी हुन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसिंचाइ मन्त्री एवं सभासद बालकृष्ण खाँडले कम्युनिष्टहरु सकेसम्म बन्दुकले शासन सत्ता कब्जा गर्ने नसके मात्रै सहमतिमा आउने गरेको बताए ।

माओवादीले माघ ८ मा संविधान निर्माण हुने नदिएको र स्थानीय निकायको चुनाव पनि हुन नदिएकोमा अहिले सत्तारुढ दलसँग वार्ता सफल भए पनि संविधान कहिलेसम्म निर्माण हुने भन्ने स्पष्ट उत्तर जनतालाई चाहिने खाँडले बताए ।

कांग्रेस नेता खाँडले एमालेले सरकार छाड्ने जति घुर्की लगाए पनि छाड्न नसक्ने बताए ।

कांग्रेस रुपन्देही जिल्लाका सभापति एवं सभासद अब्दुल रज्जाकले मधेस कुनै मधेसी दलको नरहेको बताउँदै नेपाली कांग्रेसको रहेको बताए ।