आन्दोलन सफल भएको एमाओवादी निश्कर्ष
काठमाडौं, २३ फागुन । एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदअन्तरगतका समितिहरुको बैठक बहिस्कार गर्ने निर्णय फिर्ता लिने निर्णय गरेको छ । यो निर्णयलाई आइतबार बिहानै बस्ने एमाओवादी मोर्चाको बैठकले औपचारिकता दिनेछ ।
सिंहदरबारमा शनिबार बसेको एमाओवादी संसदीय दलको बैठकले पहिलो चरणको आन्दोलन सफल भएको निश्कर्ष निकाल्दै अब संसदीय समितिका बैठकहरुमा सहभागिता जनाउने निर्णय गरेको हो ।
संविधानसभामा प्रक्रिया सुरु गरिएको विरोधमा एमाओवादी मोर्चाले संसदीय समितिका बैठकहरु बहिस्कार गर्दै आएको थियो । मोर्चाकै घटक फोरम लोकतान्त्रिकले भने समितिका बैठकमा सहभागिता जनाउँदै आएको थियो ।
‘संवैधानिक परिषदको बैठकमा सहभागिता जनाएको र आन्दोलन पनि सफल भएको अवस्थामा समितिको बैठकमा भाग लिन सकिने निश्कर्ष निकालिएको छ,’ संसदीय दलको बैठकपछि सभासद अग्नि सापकोटाले अनलाइनखबरसँग भने,’भोलि बिहान साढे ८ बजे बस्ने मोर्चाको बैठकमा यसबारे छलफल गरिने छ ।’
आन्दोलन सफल भएको निश्कर्ष
एमाओवादी संसदीय दलको बैठकले प्रथम चरणको आन्दोलन सफल भएको निश्कर्ष निकाल्दै आन्दोलन सफल बनाउन भूमिका खेलेकोमा जनता र कार्यकर्तालाई धन्यवाद दिएको छ ।
साथै बानेश्वर झडपमा घाइते भई हालसम्म उपचार गराइरहेका नेता कार्यकर्ताको स्वास्थ्यलाभको कामना समेत बैठकले संसदीय दलको बैठकले गरेको छ ।
एमाओवादी संसदीय दलको बैठकले राष्ट्रिय राजनीतिका बारेमा पनि समीक्षा गरेको सापकोटाले बताए ।






