गफाडी मन्त्री !

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार ट्विट गर्दै भनेका छन्– ‘सयवटा उत्कृष्ट लाग्ने राम्रा कुरा बोलेरभन्दा एउटा सरदर राम्रो काम गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।’

नेपालको सम्पूर्ण बाह्य तथा आन्तरिक सुरक्षा व्यवस्था गर्ने कार्यक्षेत्र रहेको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेलले गर्नुपर्ने धेरै काम पनि छैन । बाह्य तथा आन्तरिक सुरक्षामा अहिले धेरै काम गर्नुपर्ने छैन, बरु नेपाली सेनाको व्यवस्था, परिचालन तथा सरकारका अन्यमन्त्रालय तथा निकायहरूसँग समन्वय गर्ने काम मन्त्रालयले गर्छ ।

नेपाली सेनाभित्रको लोकतान्त्रिककरण गर्ने बहस भए पनि त्यसमा खासै चासो नदेखाएका पोखरेलले सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाकबारे भने चासो लिएका छन् । फास्ट ट्रयाक निरीक्षणमा एकपटक पुगेका उनले यतिमात्रै भनेका छन्– ‘फास्ट ट्रयाक समयमै पूरा हुन्छ ।’

केपी ओली सरकारमा रहेका एमाले र माओवादी मन्त्रीहरु भने पोखरेलभन्दा बिल्कुलै फरक छन् । कोही उत्पात गर्छु भनेर दिनैपिच्छे घोषणा गरिरहेका छन् भने कोही के गर्ने के नगर्ने भनेर चुइँक्क बोलेका छैनन् । तर, कतिपय मन्त्रीहरुले भने प्रारम्भीक काम सुरु गरिसकेका छन् ।

वरीयतामा पोखरेलपछि रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुधारका ८२ बुँदा सार्वजनिक गरेका छन् । एयरपोर्टबाट हुने सुन तस्करीबारे उनले दिएको अभिव्यक्ति विवादमा मात्रै आएको छैन । आफ्नै ‘अन्तरमुखी’ स्वभावले गृहमन्त्री एकपछि अर्को विवाद अप्ठ्यारोमा परेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिल्कुलै फरक क्षेत्रको मन्त्रालयमा छन् । उनले अहिलेसम्म के गर्ने के नगर्ने भेउ पाएका छैनन् । उनले आफ्नो क्षेत्र सुधारबारे एक शब्द बोल्न सकेका छैनन् ।

ऊर्जामन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ अन्त्य वैशाख पहिलो सातामा हुने घोषणा गरेका छन् । नेपाल विद्युत् प्राधिकरणसँग समन्वय र अध्ययन नगरी घोषणा गरेको भन्दै उनको आलोचना भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले खासै घोषणा गरेका छन् । तीमध्ये यादव र बस्नेतले प्रारम्भिक काम सुरु गरेका छन् । ओली सरकारमा सुरुमै सहभागी भएकी थममायाले कुनै काम गरेको सार्वजनिक भएको छैन ।

सिन्डिकेटविरुद्ध यातायात व्यवस्था विभागले चालेको कदममा बलियो साथ दिएका रघुवीर महासेठ औसत मन्त्रीमा परेका छन् । उनले पनि ओलीको महत्त्वाकांक्षी योजना पानी जहाज, विद्युतीय र मोनो रेल बनाइछाड्ने घोषणा गरेका छन् भने काठमाडौंको खाल्डाखुल्डी अन्त्य गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको श्वेतपत्र बहसको विषय भए पनि आर्थिक मामिलाका जानकार खतिवडाले कुनै घोषणा गरेका छैनन् । राज्यमन्त्री भए पनि पूर्ण मन्त्रालय सम्हालेका स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल र सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाको प्रगति पनि छैन, घोषणा पनि छैन ।

मेलम्चसहितका खानेपानी योजनामा खानेपानी मन्त्री बिना मगरले पनि ठूल्ठूला घोषणा गरेकी छन् । कृषि मन्त्री चक्रपाणि खनाल अहिलेसम्म कृषिका कुनै पनि घोषणा नगर्ने मन्त्री भएका छन् । उनले भने, ‘मन्त्रालय बुझ्दैछु, अहिले बोल्दिन ।’

दिनैपिच्छे दर्जनौं कार्यक्रममा अतिथि भन्दै नयाँ नयाँ घोषणा गर्ने तर काम पिटिक्कै नगर्ने मन्त्रीहरु प्रधानमन्त्रीको अध्ययनको विषय बनिसकेका छन् ।

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका कानुन मन्त्री शेरबहादुर तामाङ ओली सरकारमा सबैभन्दा सक्रिय मन्त्री हुन् भने पर्यटन मन्त्री रविन्द्रप्रसाद अधिकारीले विमानस्थल सुधारमा चालेका कामको प्रशंसा भएको छ ।

सामान्य प्रशासन मन्त्री हुँदा राम्रो काम गरेका लालबाबु पण्डित र सञ्चार राज्यमन्त्रीले स्तरहीन अभिव्यक्ति दिइरहेका छन् । सञ्चार क्षेत्र बुझेका बास्कोटाले पत्रकारविरुद्ध नै दिएका अभिव्यक्तिको विरोध भइरहेको छ ।