‘संघीयता भन्नेलाई नै संघीयता गलपासो’

काठमाडौं २ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच सहमति हुन नसक्ने भएकाले सहमतिको मुरली नबजाउन आग्रह गरेका छन् ।

chitra-bahadur-kcतोकिएकै मिति माघ ८ मा संविधान जारी गर्न नेकपा मसालसम्वद्ध १३ वटा जनवर्गीय संगठनहरुले शुक्रबार संविधानसभा भवन अगाडि नयाँ बानेश्वरमा गरेको दबाव अभियान कार्यक्रममा बोल्दै नेता केसीले बालुवा पेलेर तेल नआउने बताए ।

संघीयताबारे विमति रहँदा रहँदै पनि प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्नेमा आफूहरुले जोड दिएको केसीले बताए ।

संघीयता भन्नेलाई नै संघीयता गलपासो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले संघीयता भन्नेहरुलाई नै अहिले संघीयता गलपासो भएको बताए । आज भन्दा ६ वर्षअघि मुलुक संघीय राज्य भनेर ताली बजाउनेहरुलाई नै संघीयता भनेको के हो थाहा नभएको भन्दै केसीले संघीयताका बारे नेताहरुले बल्ल बुझ्न थालेको केसीले टिप्पणी गरे ।

‘लोकेन्द्रबहादुरजीहरु अहिले बल्ल संघीयता हुनुहुँदैन भन्न थाल्नुभएको छ,’ केसीले भने, ‘संघीयताले हित गर्दैन भन्ने कुरा ढिलै भए पनि बुझ्नु भएछ भनेर मैले बधाइ पनि दिएको छु ।’

संविधानसभाको शुक्रवारको बैठकमा हतार हतार आफ्नो भनाई राखेर संविधानसभा बाहिरको आफ्नो पार्टीको कार्यक्रममा भाषण गर्न आएका केसीले सडकको कार्यक्रमलाई सम्बोधन गर्दै भने,-‘मैले भर्खरै संविधानसभामा पनि बालुवा पेलेर तेल निस्कँदैन, त्यसैले सहमतिको मुरली नबजाउनुस् भनेर आएको छु ।’

धार्मिक उन्मादसमेत बढेर गयो

नेता केसीले जातीय कुराहरु मात्र नभई धार्मिक उन्मादहरु समेत शुरु भइसकेको बताए । ‘रात रहे अग्राख पलाउँछ,’ केसीले भने- ‘हिजो संविधानसभाको एउटा कुनामा सीमित राजावादीहरु अहिले सबैभन्दा सबैभन्दा ठूलो हुँकार दिने भइसकेका छन् ।’ उखान टुक्का सुनाउन खप्पिस नेता केसीले समयमै नसोच्ने हो भने मुलुकको स्थिति भयावह हुने बताए ।

कांग्रेस-एमालेको प्रदेश युपी र बिहार बनाउने डिजाइन

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले नेपाली कांग्रेस र एमालेले ल्याएको प्रदेशसम्बन्धी अवधारणा पनि आफ्नो पार्टीलाई मान्य नभएको बताए । उनले कांग्रेस-एमालेको सात प्रदेशको अवधारणा पनि यूपी र बिहार बनाउने डिजाइनमा आएको दाबी गरे । ‘कांग्रेस-एमालेको प्रस्ताव पनि हामीलाई स्वीकार्य छैन,’ केसीले भने, ‘उनीहरुको अवधारणा पनि एउटा भागलाई बिहारमा र एउटालाई यूपीमा गाभ्ने योजना हो ।’

राजधानीका नेवार समुदायहरु आफूले राज्य नखोजेको तर विदेशी एनजीओको डलर खानेहरुले मात्रै नेवाः राज्य भन्दै अकुपाईको नारा लगाएको केसीले आरोप लगाए । जातीय राज्य बनाइए नाइजेरिया र सुडान हुने उनको दाबी थियो ।