काठमाडौं, ८ असोज । दुबै देशको सीमा क्षेत्रमा अनावश्यक गतिविधि गरेर गडबडी सिर्जना नगर्न चिनियाँ सेनाले भारतलाई चेतावनी दिएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर भारतलाई यस्तो चेतावनी दिएका हुन् ।
भारत चीनको सीमाना लद्दाखमा राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाइदिएका थिए । भारतको यस्तो गतिविधि पछि चीनले भारतलाई यसतो चेतावनी दिएको हो । सीमानको लद्दाख भारत र चीनको विवादित क्षेत्र हो ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले भनेका छन, ‘भारतीय सेनाले सीमानामा रहेका हाम्रा भौतिक संरचना भत्काइदिने काम दुबै पक्षबीचको समझौता र सहमतिको भावना भन्दा निकै प्रतिकुल रहेको छ ।’
यो घटनापछि चीनले कडा प्रतिक्रिया दिदै सीमावर्ती इलाकामा स्थिरता र शान्ति खलबलिने कुनै पनि किसिमको ’एकतर्फी कारबाही’ नगर्न चेतावनी दिएको हो । चीनले यस्तो गडबडी नगर्न र यस्ता गतिविधि कायम राखे युद्ध निम्तनसक्ने सम्मको चेतावनी दिएको हो ।
दुबै देशका सरकारले गरेको सहमति अनुसार सीमाक्षेत्रमा शान्ति कायम गर्नु दुबै देशका सेनाको दायित्व रहेको प्रवक्ता कर्णेल वु कियानले बताएका छन् ।
उनले भारतीय सेनालाई भनेका छन, ‘दुबै देशबीच भएको सहमतिको इमान्दारपूर्वक भारतीय सेनाले पालना गरोस् । त्यो सहमति तोड्ने कुनै पनि किसिमको एकतर्फी कारबाही भारतीय पक्षबाट नहोस् ।’






