काठमाडौं– एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ ।
दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो ।
१६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यदलले बुधबार टुंगो लगाएको हो । गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले विधानलाई पार्टी एकता संयोजन समितिलाई बुझाउने गरी अन्तिम रूप दिएको कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।
एकीकृत पार्टीमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य रहनेछन् । दश तहको संरचनामा बाँडिएको कमिटी हुनेछ । महानगर, उपमहानगर र गाउँपालिका कमिटीको हैसियत समान रहनेछ ।
महाधिवेशनमा केन्द्रीय कमिटी र कार्यकारी पदको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी नलाग्ने भएको छ । ७० भन्दा कम उमेरको हुनुपर्ने हदबन्दी राख्ने कि नराख्ने विषयमा दुई दलका नेताबीच विवाद भए पनि अन्तिममा खुला राख्ने सहमति भएको हो ।






