बेलायतका लागि पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

लन्डन । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठले बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत)को जिम्मेवारी पाएका छन् ।

पर्यटन बोर्डले गत २५ फेब्रोअरीमा एनआरएनए यूके संस्थापक अध्यक्ष श्रेष्ठलाई आगामी दुई वर्षका लागि अनरेरी पब्लिक रिलेसन्स रिप्रेजेन्टेटिभ (एचपीआरआर) नियुक्त गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) डा. धनन्जय रेग्मीले श्रेष्ठलाई नियुक्ति भएकोमा बधाइ दिंदै उनको कार्यकाल सफलताको कामना गरे । नेपालको पर्यटन प्रवर्धनमा श्रेष्ठको योगदान उल्लेखनीय रहने उनको विश्वास छ ।बोर्डले श्रेष्ठलाई नियमित अपडेटसहित प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ ।श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर अपरेटर्स, होटल व्यवसायी लगायत सरोकारवालासंग निकट रहेर काम गर्ने बताएको छ ।

बेलायतमा सफल व्यवसायीको छवि बनाएका उनले लन्डनको इलिङस्थित मन्टिज रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । उनको नेपालमा काठमाडौँको ठमेलमा पनि तारे होटल रहेको छ ।

नेपाललाई अझै चिनाउने योजना

लण्डन नेपाल न्यूजसँगको कुराकानीको क्रममा पर्यटन दूत श्रेष्ठले बेलायतमा नेपाललाई अझै बढी चिनाउने गरी अघि बढ्ने बताए ।’लण्डन यस्तो ठाँउ हो नेपाललाई माया गर्ने ठूलो शक्ति छ ।’ उनले भने, ‘कोरोनाभाइरस महामारीले पर्यटनको क्षेत्रमा पारेको प्रभावलाई न्यूनिकरण गर्नेगरी बेलायतमा नेपाललाई चिनाउने र यहाँका पर्यटक नेपाल पठाउनेमा मेरो पूर्ण लगाव रहनेछ ।

‘नेपाललाई पर्यटनको उत्तम गन्तव्यको रुपमा अझै पनि चिनाउन सकिरहेका छैनौँ, ‘ उनले भने, ‘बेलायतका मानिसहरुलाई नेपालका पर्यटकीय क्षेत्रमा पुर्याउने गरी अभियान चलाउने सोँच छ ।’उनले विश्वको अग्लो शिखर सगरमाथा सहित नेपालका पशुपतिनाथ मन्दिर जस्ता पर्यटकीय क्षेत्रहरु अझ बढी आकर्षक केन्द्र रहेको बताउदै नेपालका महत्वपूर्ण प्रमुख धार्मिक क्षेत्रहरुको रिलिजियस टूर पनि सञ्चालन गर्न सकिन्छ ।’यूकेमा चल्ने दुइतले राता बस र ट्रेनमा पनि नेपाल लेखेको पोष्टर टाँस गर्ने योजना रहेको उनले सुनाए ।