काठमाडौं । पन्ध्र वर्षको उमेरमा तेजाब हमलामा परेकी मुस्कान खातुन अमेरिकी सरकारको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकी छन्।
महिलाहरुमाथि हुने एसिड आक्रमण अन्त्य गर्नका लागि खेलेको भूमिकालाई कदर गर्दै खातुनलाई वुमन अफ करेज आइडब्लूओसी अवार्डबाट सम्मानित गर्न लागिएको हो ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेन र सेक्रेटरी अफ स्टेट टोनी ब्लीनकेनले आगामी मार्च ८ मा भर्चुअल कार्यक्रमबीच मुस्कानलाई उक्त अवार्ड प्रदान गर्नेछन् ।
प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै १५ वर्षको उमेरमा खातुन एसिड आक्रमणको शिकार बनेकी थिइन् । घटना उनको अनुहार, छाती र हातमा चोट लागेको थियो । यसका बावजुद उनले यस विपत्लाई नेपालमा परिवर्तन ल्याउने अवसरको रुपमा परिणत गरिन् ।
मुस्कानले नेपालमा एसिड आक्रमणबारे कडा कानुन ल्याउन पहलकदमी लिइन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गरेकी थिइन् ।
यो अवार्ड दिन लागिएको यो १५ औँ वर्ष हो । यसअघि, मलाला युसफझाइ लगायतले यो अवार्ड जितिसकेका छन् । मुस्कान उक्त अवार्ड जित्ने पहिलो नेपाली समेत बनेकी छिन् ।






