ओस्लो, २२ असोज। विभिन्न नर्वेली अन्तर्राष्ट्रिय संस्था मार्फत नर्वेले प्रदान गर्दै आएको वैदेशिक सहयोगमा ब्यापक कटौती गरेको छ।
यसबाट नर्वेको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजना प्रभावित बन्ने छन्। अर्थमन्त्री सीव् येन्सनले बुधबार नर्वेली संसदमा प्रस्तुत गरेको आगामी वर्ष सन् २०१६ को प्रस्तावित बजेटमा सो उल्लेख गरेकी हुन्।
उनले ती संस्थाहरु मार्फत बिभिन्न वैदेशिक सहयोग परियोजनालाई प्रदान गर्दै आएको ३ सय २६ मिलियन क्रोनर कटौती गर्ने बताईन्।
नर्वेले बैदेशिक सहयोग उपलब्ध गराउँदै आएको बिभिन्न ८५ वटा मुलुक मध्ये प्राथमिकतामा रहेको प्रमुख १२ वटा मुलुकको सूचीमा नेपाल पनि पर्छ। प्रस्तावित बजेटमा गत बर्ष घोषित प्राथमिकताका १२ मुलुकलाई दिँदै आएको वैदेशिक सहयोग जारि रहने उल्लेख रहेपनि यो पटक घोषित विशेष प्राथमिक ६ विकास सहकार्य राष्ट्र अफगानिस्तान, प्यालेस्तिना, हाइटी, सोमालिया, दक्षिण सुडान र मालीको सूचीमा नेपाल पर्दैन।
गत बर्षको तुलनामा झन्डै ६ सय मिलियन क्रोनर बैदेशिक सहयोग वृद्धि गरेको नर्वेले मानवीय सहयोग वापत डेढ अर्ब क्रोनर सिरिया र इराकका शरणार्थीका लागि छुट्याएको छ।
यसैबीच नेपालमा कार्यरत बिभिन्न १४ वटा नर्वेली संस्थाले नेपाल लगायत गरिबी निवारण र नागरिक सशक्तिकरण र दिगो विकास उन्मुख राष्ट्र हरुका लागि छुटै बजेटको व्यवस्था गर्न संयुक्त माग गरेका छन्।
त्यसरी माग गर्ने संस्थाहरुमा फ़ोरुत, केयर नर्वे, क्यारितास नर्वे, फोकस र प्लान इन्टर्नेशनल नर्वे लगायत रहेका छन्।






