लण्डन । नेपाली किशोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा लण्डन म्याराथन पूरा गरेकी छिन् । विश्वका ठूला म्याराथनमध्ये एक मानिने भर्जिन लण्डन म्याराथनमा १८ देखि ३९ वर्ष उमेर समूहमा भाग लिएकी कल्पनाको दौड पूरा गरेको आधिकारिक समय ४ घण्टा ३९ मिनेट ५२ रहेको आयोजक भर्जिन म्याराथनले जनाएको छ । आइतबार लण्डनमा सम्पन्न सो म्याराथनमा करिब ३८ हजारले भाग लिएको बीबीसीले जनाएको छ । कोभेन्ट्री विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक अध्ययन गरिरहेकी १८ वर्षिया लिम्बुले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्धारमा कार्यरत एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि म्याराथन दौडेकी थिइन् । ४२ किलोमिटर दौड पूरा गरेपछि उनले भनिन्, “थकाइ पनि लागेको छ, खुशी पनि लागेको छ ।” म्याराथन दौड्ने माहौल अत्यन्त उत्साह जगाउने भएकाले दौड अवधिभर बीचैमा छोड्छु भनेर सोच्नै नपाएको उनले बताइन् । दौड्दा छेउछेउबाट पानी, जुस, खानेकुराहरु दिने, टिसर्टमा लेखिएको नाम बोलाएर हौसला दिँदा १८ माइल दौडेको उनले थाहै पाइनन् । त्यसपछि भने थाक्दै गएको अनुभव उनले गरिन् ।
४२ किलोमिटर दौड पूरा गरिन् कल्पनाले लण्डन म्याराथन







